काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि आजै दिउँसो ३ बजे बोलकबोल तथा निष्काशन प्रक्रिया सञ्चालन गरिने भएको छ।
बोलकबोल प्रक्रियामा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत आवेदन पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने व्यवस्था गरिएको छ। सहभागी संस्थाहरूले बहुब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन्। संकलित निक्षेपको साँवा तथा ब्याज आगामी असोज २८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा सहभागी हुँदा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। निक्षेप संकलनका लागि आह्वान गरिएको रकमको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूको माग रकम निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमा लगानी गरिएको रकमलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाउने छैनन्। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातको गणनामा भने समावेश गर्न सकिने व्यवस्था छ।
यस्तै, उक्त निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्