काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज सरकार, संघीय सांसद तथा निजी क्षेत्रका प्रतिनिधिबीच आन्तरिक रोजगारी प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादनका विषयमा अन्तरक्रिया तथा छलफल भएको छ।
मन्त्रालयमा आयोजित छलफलमा प्रतिनिधिसभा सदस्य विदुषी राणा र अनुष्का श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष तथा विभिन्न व्यवसायिक संघ–संगठनका पदाधिकारी सहभागी थिए।
छलफलमा कार्यस्थलमै सीप, उद्योगलाई दक्ष जनशक्तिमार्फत उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, युवालाई प्रत्यक्ष रूपमा रोजगारीसँग जोड्ने, श्रम बजारको मागअनुसार सीप विकास गर्ने तथा रोजगार सिर्जनामा निजी क्षेत्रको सक्रिय सहभागिता अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रममा मन्त्री यादवले सरकारको ूआन्तरिक रोजगारी प्रवर्द्धनको दशकू अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको बताए। उनले उद्योगको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउने दिशामा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउँदै वैदेशिक रोजगारीमा निर्भरता घटाउन कार्यस्थलमै आधारित तालिम र अप्रेन्टिस कार्यक्रमलाई विस्तार गरिने बताए।
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योगको वास्तविक आवश्यकता अनुरूप सीप विकास कार्यक्रम सञ्चालन गर्न, तालिम र रोजगारीबीच प्रभावकारी समन्वय गर्न तथा सार्वजनिक–निजी साझेदारीलाई थप सुदृढ बनाउन सुझाव दिएका थिए।
मन्त्रालयका अनुसार यस्तो सहकार्यले उद्योगलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनुका साथै युवालाई उत्पादनशील रोजगारीमा जोड्ने र मुलुकभित्रै रोजगारीका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्