काठमाडौं। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना नयाँ सदस्य नियुक्त गरेको छ। सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणका विभिन्न क्षेत्रतर्फ चार सदस्य नियुक्त गरिएको हो ।
नियुक्त हुनेहरूमा लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ रहेको मन्त्रालयले जनाएको छ। नवनियुक्त सदस्यहरूलाई पदभार ग्रहणअघि सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको विकास, विस्तार र नियमनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण निकाय भएको भन्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका छन् ।
मन्त्री तिमिल्सिनाले प्राधिकरणको निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । ‘तपाईंहरू जुन संस्थाका लागि काम गर्नुहुन्छ, त्यहाँ देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला। यो निकै महत्वका साथ हेरिएको संस्था र पद हो। तपाईंहरूको कामले भोलिको दूरसञ्चार क्षेत्रको भविष्य निर्धारण गर्नेछ,’ उनले भने ।
उनले संस्थाको हित र जनहितविपरीत हुने कुनै पनि काम सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्दै कार्यसम्पादन कमजोर भए विकल्प खोज्न सकिने चेतावनी समेत दिएको उनको निजी सचिवालयले जनाएको छ। उनले देशभर दूरसञ्चार सञ्जाल विस्तार, सेवा पहुँच वृद्धि र डिजिटल पूर्वाधार विकासमा प्राधिकरणले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। ‘नियामकीय भूमिका बलियो बनाउनुपर्नेछ। आजसम्म यो क्षेत्रलाई पर्याप्त रूपमा बलियो बनाउन सकिएको छैन । संस्था धेरैअघि नै सुदृढ भइसक्नुपर्ने थियो, तर कमजोर र जीर्ण बनाइएको अवस्था छ,’ मन्त्री तिमिल्सिनाले भने ।
उनले नयाँ प्रविधिको विकास, बढ्दो प्रतिस्पर्धा, सेवा गुणस्तर, उपभोक्ता हित संरक्षण र डिजिटल रूपान्तरणका चुनौती सामना गर्न सक्षम, निष्पक्ष र प्रभावकारी नियामक संस्थाको आवश्यकता रहेको बताए । नवनियुक्त सदस्यहरूले कानुनसम्मत, पारदर्शी र इमानदार ढंगले जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिँदै सुशासन, सामूहिक निर्णय प्रणाली र दूरसञ्चार क्षेत्रको प्रभावकारी विकास तथा नियमनमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।















प्रतिक्रिया दिनुहोस्