Advertisement
Advertisement
Corporate Samachar
१ श्रावण २०८३, शुक्रबार
Advertisement

साउन लागेसँगै हरियो चुरा, पोते र मेहेन्दीको व्यापार बढ्यो

साउन लागेसँगै हरियो चुरा, पोते र मेहेन्दीको व्यापार बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । साउन महिना सुरु भएसँगै काठमाडौंका प्रमुख बजारमा हरियो चुरा, पहेँलो पोते र मेहेन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार महिलाले साउनभर हरियो चुरा, पोते र मेहेन्दी लगाउने चलनका कारण बजारमा ग्राहकको चहलपहल बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

राजधानीका असन, इन्द्रचोक, बागबजारलगायत क्षेत्रमा हरियो श्रृंगार सामग्री खरिद गर्ने महिलाको भीड देखिएको छ। ब्युटीपार्लरदेखि सडक किनारासम्म मेहेन्दी लगाउने महिलाको चहलपहल बढेको छ भने पसलहरूमा नयाँ डिजाइनका चुरा र पोते बिक्रीका लागि राखिएका छन्।

इन्द्रचोकका व्यवसायी अहमद मुसलमानका अनुसार पछिल्ला केही दिनयता चुरापोतेको व्यापार उल्लेख्य रूपमा बढेको छ। उनका अनुसार अन्य समयमा दैनिक आठदेखि १० हजार रुपैयाँसम्म हुने व्यापार साउन सुरु भएसँगै दैनिक २० देखि २५ हजार रुपैयाँसम्म पुगेको छ।

सोही क्षेत्रका अर्का व्यवसायी हसन अन्सारीले पनि साउन नजिकिँदै जाँदा पसलमा ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार विवाहको यामबाहेक अन्य समयमा भन्दा साउन सुरु हुनुअघि ग्राहक बढी आउने गरेका छन्।

गोङ्गबुबाट इन्द्रचोक चुरापोते किन्न पुगेकी सरस्वती दवाडीले साउनमा हरियो चुरा र पोते लगाउँदा सांस्कृतिक परम्पराको संरक्षण हुने विश्वास व्यक्त गरिन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका निवर्तमान कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार माता पार्वतीले महादेवलाई प्रसन्न पार्न हरियो चुरा, पहेँलो पोते र मेहेन्दी प्रयोग गरेको किंवदन्तीसँग यो परम्परा जोडिएको छ। उनका अनुसार वर्षायाममा प्रकृति हरियाली हुने भएकाले पनि साउनलाई हरियो रङसँग जोडेर हेर्ने गरिन्छ।

हिन्दू धर्मावलम्बीहरूले साउन महिनालाई भगवान् शिवको प्रिय महिनाका रूपमा मान्ने गर्छन्। यस अवधिमा महिलाले हरियो पहिरन, चुरा र पोते लगाउने तथा पुरुषले पहेँलो वस्त्र धारण गरी शिवको पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। तीज नजिकिँदै जाँदा हरियो चुरा र पोतेको व्यापार अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit