काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक तथा समाधानउन्मुख भएको छ। दुवै पक्षबीचका विषयमा प्रारम्भिक सहमति र संवादको वातावरण बनेपछि वार्ता शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको छ।
आन्दोलनरत लघुवित्त पीडितका मागलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत वार्ता समिति गठन गर्नुभएको हो। समितिलाई तत्काल पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिइएको थियो।
वार्ता टोलीको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य रहनुभएको छ। सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनुभएको छ। समितिको सदस्य–सचिवका रूपमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहनुभएको छ।
समितिको पहिलो बैठक अर्थ मन्त्रालयमा बसेपछि आन्दोलनरत लघुवित्त पीडितका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु गरिएको थियो। वार्तामा पीडित पक्षका माग, लघुवित्त क्षेत्रमा देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे विस्तृत छलफल भएको जनाइएको छ।
वार्ता सकारात्मक दिशातर्फ अघि बढेकाले दुवै पक्षले संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। बाँकी विषयमा थप छलफल गर्न शुक्रबार पुनः बैठक बस्नेछ।
सरकारले संवादमार्फत समस्याको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको छ भने पीडित पक्षले पनि आफ्ना मागको सम्बोधन हुने अपेक्षासहित वार्तालाई निरन्तरता दिने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्