काठमाडौं । म्यानमारकी नजरबन्द पूर्वराज्य सल्लाहकार तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का म्यानमारस्थित आवासीय प्रतिनिधिसँग भेट गरेकी छन्। सैन्य समर्थित सरकारले सोमबार सार्वजनिक गरेको तस्बिर र विवरणअनुसार सन् २०२१ को सैन्य ‘कू’पछि सरकारबाहिरका कुनै विदेशी अधिकारीसँग भएको यो करिब चार वर्षयताकै पहिलो पुष्टि भएको सार्वजनिक भेट हो।
सैन्य सरकारले सार्वजनिक गरेको तस्बिरमा ८१ वर्षीया सुकी परम्परागत बर्मेली पोशाकमा मुस्कुराउँदै आईसीआरसीका म्यानमारस्थित आवासीय प्रतिनिधि अरनाउद डे बेकसँग हात मिलाइरहेको देखिन्छ। भेट सामान्य काठको कोठामा भएको देखिए पनि उनीहरूबीच भएको छलफल वा सुकीको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।
सुकी सन् २०२१ फेब्रुअरीमा सेनाले उनको नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेपछि नियन्त्रणमा छिन्। त्यसपछि उनीमाथि विभिन्न मुद्दा चलाइँदा सुरुमा ३३ वर्षको जेल सजाय सुनाइएको थियो। पछि सजाय घटाइएपछि उनलाई नजरबन्दमा राखिएको छ। अन्तर्राष्ट्रिय समुदायले ती मुद्दालाई राजनीतिक प्रेरित र व्यापक रूपमा अविश्वसनीय ठानेको छ।
पछिल्ला महिनाहरूमा सुकीको स्वास्थ्य अवस्था बिग्रँदै गएको आशंका बढेपछि उनका छोरा किम एरिसले उनी जीवित रहेको प्रमाण सार्वजनिक गर्न माग गर्दै अन्तर्राष्ट्रिय अभियान सञ्चालन गरेका थिए। आईसीआरसीका प्रतिनिधिसँगको भेट त्यसै अभियानपछि सार्वजनिक भएको हो। यसअघि सैन्य सरकारले सुकी सकुशल रहेको दाबी गरे पनि त्यसको विश्वसनीय प्रमाण सार्वजनिक गरेको थिएन।
सन् २०२१ को सैन्य ‘कू’पछि म्यानमार गृहयुद्धमा फसेको छ। लोकतन्त्र समर्थक समूह र विभिन्न जातीय विद्रोही संगठनसँगको लडाइँमा हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन्।
यसैबीच, मिन आङ ह्लाइङ नेतृत्वको सैन्य सरकारले पछिल्लो समय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ। अन्तर्राष्ट्रिय समुदायले म्यानमारमाथि हवाई आक्रमण रोक्न, गृहयुद्ध अन्त्यका लागि वार्ता सुरु गर्न र आङ सान सुकीलाई रिहा गर्न निरन्तर दबाब दिँदै आएको छ। यद्यपि सैन्य सरकारले ती माग स्वीकार गरेको छैन। विश्लेषकहरूले भने आईसीआरसी प्रतिनिधिसँगको भेट सार्वजनिक हुनु अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयासको रूपमा पनि हेरिरहेका छन्। सिएनएन














प्रतिक्रिया दिनुहोस्