एजेन्सी । वस्तु आयातमा तीव्र वृद्धि र खुद आय बहिर्गमन बढेपछि भारतको चालु खाता घाटा (सीएडी) फराकिलो बनेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०२६/२७ को पहिलो छ महिनामा भारतको चालु खाता घाटा २५ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भारतको चालु खाता घाटा १८ अर्ब डलर थियो। यसरी एक वर्षको अवधिमा चालु खाता घाटा ७ अर्ब ८० करोड डलरले बढेको हो । यद्यपि, पुँजी तथा वित्तीय प्रवाहमा भएको उल्लेख्य वृद्धिले भारतको समग्र शोधनान्तर स्थितिमा भने ठूलो सुधार देखिएको छ । समीक्षा अवधिमा भारतको समग्र शोधनान्तर स्थिति ६६ अर्ब ८० करोड डलर बचतमा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो स्थिति ६ अर्ब ४० करोड डलर घाटामा थियो ।
आरबीआईले नोभेम्बर १३ मा सार्वजनिक गरेको अप्रिल–सेप्टेम्बर २०२६ को प्रारम्भिक शोधनान्तर विवरणअनुसार भारतको वस्तु व्यापार घाटा १ खर्ब ५८ अर्ब १० करोड डलरबाट बढेर १ खर्ब ७६ अर्ब १० करोड डलर पुगेको छ । समीक्षा अवधिमा वस्तु निर्यात २ खर्ब २१ अर्ब ५० करोड डलरबाट बढेर २ खर्ब ६५ अर्ब ३० करोड डलर पुगेको छ । तर, आयात अझ तीव्र गतिमा बढेको छ । वस्तु आयात अघिल्लो वर्षको ३ खर्ब ७९ अर्ब ६० करोड डलरबाट बढेर ४ खर्ब ४१ अर्ब ४० करोड डलर पुगेको छ । निर्यातको तुलनामा आयात तीव्र गतिमा बढ्दा व्यापार घाटा थप फराकिलो भएको हो ।
वस्तु व्यापारमा घाटा बढे पनि सेवा व्यापारबाट हुने आम्दानी र विप्रेषणसहितका हस्तान्तरणले चालु खाता घाटाको दबाब केही कम गरेका छन् । समीक्षा अवधिमा खुद सेवा निर्यात ९८ अर्ब ८० करोड डलरबाट बढेर १ खर्ब ५ अर्ब डलर पुगेको छ। त्यस्तै, खुद हस्तान्तरण रकम ६७ अर्ब २० करोड डलरबाट बढेर ७७ अर्ब ७० करोड डलर पुगेको छ। तर, खुद आय बहिर्गमन भने बढेको छ । अघिल्लो वर्ष २५ अर्ब ८० करोड डलर रहेको खुद आय घाटा यस वर्ष ३२ अर्ब ४० करोड डलर पुगेको आरबीआईको तथ्यांक छ ।
यसैगरी, चालु खाता घाटा बढे पनि पुँजी तथा वित्तीय प्रवाहमा आएको वृद्धिले भारतको समग्र बाह्य वित्तीय स्थितिलाई बलियो बनाएको छ। आरबीआईको विवरणअनुसार समीक्षा अवधिमा पुँजी खाताको खुद बचत ११ अर्ब ६० करोड डलरबाट बढेर ९२ अर्ब ६० करोड डलर पुगेको छ । यसमा बैंकिङ पुँजीको खुद आप्रवाह प्रमुख आधार बनेको छ। बैंकिङ पुँजीको खुद आप्रवाह अघिल्लो वर्षको ३० करोड डलरबाट बढेर १ खर्ब २५ अर्ब २० करोड डलर पुगेको छ । यसअन्तर्गत गैरआवासीय भारतीय (एनआरआई) निक्षेपको खुद आप्रवाह ६ अर्ब १० करोड डलरबाट बढेर १ खर्ब २५ अर्ब ६० करोड डलर पुगेको आरबीआईको तथ्यांक छ । यसको विपरीत विदेशी पोर्टफोलियो लगानी (एफपीआई) मा खुद बहिर्गमन बढेको छ । समीक्षा अवधिमा यस्तो बहिर्गमन ४ अर्ब १० करोड डलरबाट बढेर १० अर्ब ४० करोड डलर पुगेको छ ।
सेप्टेम्बरमा चालु खाता घाटा ७ अर्ब ४० करोड डलर
मासिक विवरणअनुसार सन् २०२६ को सेप्टेम्बरमा भारतको चालु खाता घाटा ७ अर्ब ४० करोड डलर पुगेको छ । गत वर्षको सोही महिनामा यस्तो घाटा ५ अर्ब २० करोड डलर थियो । यद्यपि, सेप्टेम्बरमा वस्तु व्यापार घाटा भने घटेको छ । अघिल्लो वर्षको ३३ अर्ब ४० करोड डलरबाट घटेर ३० अर्ब डलरमा झरेको हो । यस अवधिमा वस्तु निर्यात ३६ अर्ब ४० करोड डलरबाट बढेर ४५ अर्ब ३० करोड डलर पुगेको छ भने आयात ६९ अर्ब ८० करोड डलरबाट बढेर ७५ अर्ब ३० करोड डलर पुगेको छ ।
सेप्टेम्बरमा खुद सेवा निर्यात १८ अर्ब ८० करोड डलरबाट बढेर १९ अर्ब २० करोड डलर पुगेको छ । तर, खुद हस्तान्तरण रकम ११ अर्ब ५० करोड डलरबाट घटेर १० अर्ब ९० करोड डलरमा सीमित भएको छ । त्यस्तै, खुद आय घाटा पनि २ अर्ब २० करोड डलरबाट बढेर ७ अर्ब ६० करोड डलर पुगेको छ । पुँजी तथा वित्तीय प्रवाहतर्फ भने सेप्टेम्बरमा उल्लेख्य सुधार देखिएको छ । गत वर्षको सोही महिनामा ४० करोड डलर खुद बहिर्गमन रहेकोमा यस वर्ष १६ अर्ब २० करोड डलरको खुद आप्रवाह भएको छ । यसमा २२ अर्ब २० करोड डलरको बैंकिङ पुँजी आप्रवाह, ४ अर्ब ५० करोड डलरको खुद बाह्य व्यावसायिक ऋण आप्रवाह, ३ अर्ब ७० करोड डलरको एनआरआई निक्षेप र १ अर्ब ६० करोड डलरको अल्पकालीन कर्जा आप्रवाहले योगदान गरेका छन् । तर, सोही महिनामा विदेशी पोर्टफोलियो लगानीबाट ६ अर्ब ७० करोड डलर र खुद प्रत्यक्ष वैदेशिक लगानीबाट ४ अर्ब ९० करोड डलर बाहिरिएको छ । समग्रमा सेप्टेम्बरमा भारतको शोधनान्तर स्थिति ८ अर्ब ८० करोड डलर बचतमा रहेको छ । गत वर्षको सोही महिनामा ५ अर्ब ६० करोड डलर घाटा रहेको थियो । यद्यपि, अगस्टमा रहेको ४५ अर्ब ४० करोड डलरको शोधनान्तर बचतको तुलनामा सेप्टेम्बरको बचत उल्लेख्य रूपमा कम हो ।
आरबीआईको तथ्यांकले भारतको बाह्य क्षेत्रको स्थितिमा मिश्रित अवस्था देखाएको छ। एकातिर वस्तु व्यापार घाटा र खुद आय बहिर्गमन बढ्दा चालु खाता दबाबमा परेको छ भने अर्कोतिर बैंकिङ पुँजी तथा अन्य वित्तीय प्रवाह बढ्दा समग्र शोधनान्तर स्थितिमा ठूलो बचत कायम भएको छ ।















प्रतिक्रिया दिनुहोस्