काठमाडौं। अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले निवर्तमान कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङलाई पुनः नेतृत्वमा फर्काउन अस्वीकार गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष हार्भी जोन्सले हुवाङलाई पुनः सीईओ नियुक्त गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
मंगलबार लगानीकर्ताहरूसँगको छलफलमा जोन्सले सञ्चालक समितिले सर्वसम्मत रूपमा हुवाङको राजीनामा स्वीकृत गरेको र उनलाई पुनः नियुक्त गर्ने योजना नरहेको बताएका हुन्। ‘एनभिडियाको सञ्चालक समितिले सर्वसम्मत रूपमा उनको राजीनामा स्वीकार गरेको हो। जेन्सेनलाई सीईओमा पुनः नियुक्त गर्ने हाम्रो कुनै योजना छैन,’ जोन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
हुवाङले पद छाडेपछि उनलाई पुनः नेतृत्वमा ल्याउन कम्पनीभित्र र बाहिरबाट दबाब बढेको थियो। उनलाई समर्थन गर्दै ‘स्ट्यान्ड विथ जेन्सेन’ अभियानसमेत सञ्चालन गरिएको थियो। कम्पनीका कर्मचारी, लगानीकर्ता, टेक हस्तिहरु, व्यावसायिक साझेदार तथा ग्राहकहरूले उनको पुनरागमनको माग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई पदमा रहिरहन समर्थन गरेको समाचार सार्वजनिक भएको थियो।
यसैबीच, हुवाङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक वक्तव्यमा आफूलाई कम्पनीका कर्मचारी, लगानीकर्ता, साझेदार र ग्राहकबाट पुनः नेतृत्वमा फर्कन आग्रह भइरहेको बताएका थिए।उनले सञ्चालक समितिले आफ्नो पुनरागमन शेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुने निर्णय गरे आफू सिइओका रूपमा फर्कन तयार रहेको बताएका थिए। यद्यपि, बोर्ड अध्यक्ष जोन्सको पछिल्लो अभिव्यक्तिले हुवाङको पुनरागमनको सम्भावना तत्कालका लागि समाप्त भएको संकेत गरेको छ। रोयटर्सका अनुसार कम्पनीले स्थायी सीईओ नियुक्तिका लागि कार्यकारी नेतृत्व खोज्ने संस्था हेड्रिक एन्ड स्ट्रगल्सको सहयोग लिएको छ। आन्तरिक र बाह्य दुवै उम्मेदवारलाई सम्भावित नेतृत्वका रूपमा हेरिएको छ।
एनभिडियाले हुवाङको व्यक्तिगत आचरण संस्थाको आचारसंहिता, मापदण्ड र संस्थागत संस्कृतिविपरीत रहेको जनाएको छ। त्यसपछि सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो। रोयटर्सका अनुसार हुवाङको व्यक्तिगत सम्बन्ध र चीनसँग सम्भावित गुप्तचर सम्बन्धबारे अमेरिकी निकायहरूले समेत चासो देखाएका छन्। चीनकी व्यवसायी एलिस हुवाङसँग उनको प्रेम सम्बन्ध रहेको र उनी चीनको सुरक्षा निकायसँग जोडिएको (जासुस) हुन सक्ने आशंकामा अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान गरिरहेका छन् ।
जेन्सेनको प्रेम सम्बन्धले तीन दशक लामो नेतृत्व यात्रामा धक्का
६३ वर्षीय हुवाङले सन् १९९३ मा दुई इन्जिनियरसँग मिलेर एनभिडिया स्थापना गरेका थिए। ताइवानमा जन्मिएका उनले स्थापनादेखि नै कम्पनीको नेतृत्व गर्दै आएका थिए। क्यालिफोर्नियाको एउटा रेस्टुरेन्टमा भिडिओ गेमका दृश्यलाई वास्तविकजस्तै देखाउन सक्ने चिप निर्माण गर्ने विषयमा भएको छलफलबाट कम्पनी स्थापनाको अवधारणा आएको थियो।
एनभिडियाले विकास गरेका ग्राफिक्स प्रोसेसिङ युनिट (जिपियू) ले एकैपटक ठूलो संख्यामा गणना गर्न सक्ने क्षमता राख्छन्। सुरुमा गेमिङ र ग्राफिक्स क्षेत्रमा प्रयोग भएका यी चिप पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको विकास र सञ्चालनका लागि अत्यन्त महत्त्वपूर्ण बनेका छन्। च्याटजिपिटीजस्ता एआई प्रणालीलाई ठूलो परिमाणको तथ्यांकबाट प्रशिक्षित गर्न आवश्यक उच्च क्षमताका चिप उपलब्ध गराउने कम्पनीमध्ये एनभिडिया अहिले अग्रस्थानमा छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार जुलाई २६ मा समाप्त भएको तीन महिनामा एनभिडियाको कुल आम्दानी ९६ अर्ब २० करोड अमेरिकी डलर पुगेको थियो। त्यसमध्ये ८९ अर्ब अमेरिकी डलर डेटा सेन्टर व्यवसायबाट प्राप्त भएको थियो। हुवाङसँग कम्पनीको करिब ३.६१ प्रतिशत शेयर स्वामित्व रहेको रोयटर्सले जनाएको छ। यसअघि नेपालमा पनि एनभिडियाले सहयोग गरेको थियो। गत भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि कम्पनीले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड अमेरिकी डलर सहयोग गरेको थियो।















प्रतिक्रिया दिनुहोस्