काठमाडौं। ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार ज्योति विकास बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ भने डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड तथा रुपे कार्डसमेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रशोधन गर्न सक्नेछ ।
सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले एक एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस) सँग एकीकृत भइसकेको छ । यससँगै इएफटी स्वीचमार्फत नेपालपे कार्डको कारोबारसमेत सञ्चालन गर्न सकिने भएको हो ।
एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेसँगै अन्तर्राष्ट्रिय कार्ड नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वभर प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ। अब बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ ।
एनसीएचएलका अनुसार हाल इएफटी सर्भिसमार्फत ११ वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरू प्रशोधन गर्दै आएका छन् । इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको एकीकरणपछि नेपालपे कार्डसमेत यही प्रणालीमार्फत सञ्चालन गर्न सकिने भएको हो । इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरू पनि नेपालपे कार्ड जारी तथा अक्वायरिङ सेवामा जोडिने तयारीमा छन्। हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपेमा आबद्ध भई विभिन्न चरणमा रहेका छन् । त्यसमध्ये ८ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने ११ भन्दा बढी संस्थाले नेपालपे कार्ड अक्वायरिङ सेवा सञ्चालनमा ल्याइसकेका छन् ।
ज्योति विकास बैंकले हाल १० लाखभन्दा बढी ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ । डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिँदै आएको बैंकले आन्तरिक प्रणाली तथा ग्राहक सेवामा निरन्तर सुधार गर्दै आएको जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्