काठमाडौं । एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनलाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय रूपमा समर्थित यो प्लेटफर्ममार्फत डोमेन दर्ता, वेब होस्टिङ तथा डिजिटल उपस्थिति व्यवस्थापनका सेवा एकै ठाउँबाट लिन सकिने कम्पनीले जनाएको छ।
नेपाली व्यवसायहरू डिजिटल माध्यमतर्फ तीव्र रूपमा अघि बढिरहेका बेला देशभित्रै सहज पहुँच, व्यवस्थापन र डेटा सुरक्षासहितको भरपर्दो वेब पूर्वाधार उपलब्ध गराउने उद्देश्यले क्लाउडसुइट सेवा ल्याइएको एनसेलको भनाइ छ।
क्लाउडसुइटमार्फत ग्राहकले डोमेन दर्ता गरी वेबसाइट होस्ट गर्न तथा आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन्। सेवामा डोमेन नवीकरण, डोमेन ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनजस्ता सुविधा समावेश छन्।
कम्पनीका अनुसार यस सेवाको अर्को महत्वपूर्ण विशेषता नेपालमै डेटा होस्टिङ हुनु हो। क्लाउडसुइट प्रयोग गर्ने ग्राहकको वेबसाइट तथा सम्बन्धित डेटा नेपालभित्रै रहने भएकाले व्यवसायहरूले आफ्नो डिजिटल सम्पत्तिमाथि थप नियन्त्रण कायम गर्न सक्नेछन्। साथै, नियामक आवश्यकताहरू पूरा गर्न पनि सहज हुने कम्पनीको दाबी छ।
अन्तर्राष्ट्रिय वेब होस्टिङ सेवा खरिद गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने अवस्थालाई समेत ध्यानमा राख्दै एनसेलले क्लाउडसुइटका सेवाको भुक्तानी नेपाली मुद्रामै गर्न सकिने व्यवस्था गरेको छ।
एनसेलले हाल क्लाउडसुइटअन्तर्गत बेसिक र प्रो गरी दुई प्याकेज उपलब्ध गराएको छ।
बेसिक प्याकेजको मासिक शुल्क रु। १ हजार रहेको छ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधाहरू उपलब्ध छन्। यो प्याकेज आफ्नो व्यवसायको अनलाइन उपस्थिति स्थापना गर्न चाहने व्यवसाय तथा उद्यमीलाई लक्षित गरिएको छ।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित प्रो प्याकेजको मासिक शुल्क रु। २ हजार रहेको छ। यसमा थप स्टोरेज तथा डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधाहरू समावेश छन्।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइटलाई नेपाली व्यवसायको डिजिटल यात्रालाई सहज बनाउने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार डोमेन नाम र भरपर्दो वेब होस्टिङ डिजिटल उपस्थितिको आधार भएकाले स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधा दिएर व्यवसायलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल बन्न सहयोग गर्ने उद्देश्य एनसेलको छ।
‘क्लाउडसुइटको पहिलो चरणमा हामीले डोमेन र वेब होस्टिङ सेवामा ध्यान केन्द्रित गरेका छौँ, किनकि यी सेवा डिजिटल क्षेत्रमा प्रवेश गर्ने धेरै व्यवसायका लागि सबैभन्दा मुख्य आवश्यकता हुन्, एसेन्सिओले भने।
एनसेलका अनुसार क्लाउडसुइटको प्रयोगले व्यवसायलाई वेबसाइट सञ्चालनदेखि डिजिटल सम्पत्ति व्यवस्थापनसम्मका आधारभूत आवश्यकता एउटै प्लेटफर्मबाट पूरा गर्न सहयोग पुग्नेछ। स्थानीय होस्टिङ र नेपालमै डेटा भण्डारणको व्यवस्थाले व्यवसायलाई डेटा व्यवस्थापन, सुरक्षा र नियन्त्रणका दृष्टिले थप सुविधा दिने अपेक्षा कम्पनीले गरेको छ।















प्रतिक्रिया दिनुहोस्