काठमाडौं । चीनको तिब्बतबाट आएको भीषण बाढीबाट भएको क्षति व्यवस्थापन, उद्धार तथा राहतका लागि बिहीबार १२ बजे अघिसम्म सरकारलाई करिब ३५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्रतिबद्धता आएको छ।
बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई तत्काल सहयोग प्राप्त हुने क्रम जारी रहेको जानकारी दिए । उनका अनुसार छिमेकी भारतबाट राहत सामग्रीसहितको जहाज बुधबार राति नै नेपाल आइपुगेको छ भने चीनबाट पनि सहयोग प्राप्त भएको छ । ‘हामीलाई अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रतिबद्धता मात्र होइन, सहयोग नै आइरहेको छ। छिमेकी भारतबाट राहत लिएर हिजो राति नै जहाज आइसकेको छ। त्यस्तै, चीनबाट पनि आएको छ,’ खरेलले भने ।
उनले अमेरिका, जापानलगायतका मुलुकबाट तत्काल ३५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता प्राप्त भएको बताए। ‘अर्थमन्त्रीले बैठकमा दिएको जानकारीअनुसार तत्काल नै नेपाललाई ३५ अर्ब रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता आइसकेको छ। चीन, जापान, एडीबीलगायतबाट तत्काल पुनरोत्थान तथा पुनर्निर्माणका लागि यो सहयोग आएको अवस्था छ,’ उनले भने ।
सरकारले बाढीपछिको अवस्थालाई तीन चरणमा व्यवस्थापन गर्ने तयारी गरेको छ। उनका अनुसार, पहिलो चरणमा मानवीय उद्धार, दोस्रो चरणमा खोज तथा राहत र तेस्रो चरणमा पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाइने भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरुमा दुईवटा हेलिकप्टर परिचालन गरिएकोमा अहिले २२ वटा हेलिकप्टर परिचालन गरिएको छ। भूगोल र मौसमले साथ दिएसम्म बेपत्ता तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धार जारी राखिने सरकारको भनाइ छ ।
सरकारले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेर आवश्यक स्रोत परिचालन गर्ने तयारी गरेको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्