नुवाकोट । बाढीबाट ध्वस्त भएको नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन चौधरी फाउण्डेसनले सहयोग गर्ने भएको छ।
बाढीका कारण विद्यालय भवनमा क्षति पुगेपछि प्रभावित विद्यार्थीलाई पुनः विद्यालयमा फर्काउन तथा उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्दै पठनपाठनलाई निरन्तरता दिन फाउण्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो।
भदौ १० गते आएको बाढीले विद्यालयमा ठूलो क्षति पुर्याएको थियो। विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए।
विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन वैकल्पिक भवनको व्यवस्था गरिने र उक्त भवनबाट पठनपाठन सुरु गर्न आवश्यक भौतिक तथा शैक्षिक सामग्री चौधरी फाउण्डेसनले उपलब्ध गराउने भएको छ।
फाउण्डेसनले विद्यालयमा डिजिटल कक्षाकोठाको अवधारणाअनुसार पठनपाठन सञ्चालनका लागि स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर तथा इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ।
त्यस्तै, कक्षाकोठाका लागि आवश्यक फर्निचर काठमाडौंमा तयारी अवस्थामा रहेका सामग्री विद्यालयमा पुर्याइनेछ। विद्यार्थीलाई विद्यालय फर्काउन आवश्यक स्कूल ब्याग तथा स्टेसनरी सामग्रीसमेत उपलब्ध गराइने भएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले तत्काल पठनपाठन सञ्चालनका लागि वैकल्पिक भवनको व्यवस्था गर्न पहल भइरहेको बताए । उनका अनुसार भवन व्यवस्थापन भएपछि चौधरी फाउण्डेसनबाट आवश्यक भौतिक तथा शैक्षिक सामग्री प्राप्त हुनेछन्।
चौधरी फाउण्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित क्षेत्रका बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउँदै उनीहरूको पढाइलाई निरन्तरता दिन विद्यालय जतिसक्दो छिटो सञ्चालन गर्न चाहेको बताए ।
उनले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक तथा शैक्षिक सामग्री उपलब्ध गराउने जानकारी दिँदै प्रभावित बालबालिकाको शिक्षा रोकिएर उनीहरूको भविष्यमा थप असर नपरोस् भन्ने उद्देश्यले आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत काम अघि बढाइएको बताए ।
विद्यालय तत्काल सञ्चालन गर्ने विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रधानाध्यापक दवाडीबीच भदौ १५ गते छलफल भएको थियो। उक्त छलफलपछि विद्यालय सञ्चालनका लागि आवश्यक वातावरण तयार गर्न फाउण्डेसनले सहयोग अघि बढाएको हो।
प्रधानाध्यापक दवाडीले चौधरी फाउण्डेसनको सहयोगले बाढीबाट प्रभावित विद्यार्थीको पढाइलाई पुनः निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। वैकल्पिक भवनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उनले भवन उपलब्ध हुनासाथ फाउण्डेसनबाट आवश्यक सामग्री प्राप्त हुने बताए ।
उनले विद्यालय सञ्चालनका लागि सहयोग गरेकोमा चौधरी फाउण्डेसनप्रति विद्यालय परिवारका तर्फबाट आभार व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्