काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित परिवारको राहत तथा पुनर्स्थापना र बेपत्ताको खोजी तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने गरी सहयोग गरेको हो ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणमा बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति थियो । बैंकले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्