बाजुरा । बाजुरामा बाटोमै सुत्केरी हुन लागेकी २६ वर्षीया कमला बोगटीको स्वास्थ्यकर्मीको तत्परताले उद्धार गरिएको छ।
खप्तड छेडेदह गाउँपालिका–४ की बोगटी माइतीघरबाट पोइलीघर जाने क्रममा बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजारमाथिको सडकमा अचानक प्रसव पीडामा परेकी थिइन्। बाटोमा छट्पटाइरहेकी उनलाई स्थानीयले देखेपछि बाजुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै स्वास्थ्यकर्मी हस्त कठायत आवश्यक प्रसूति सामग्री र औषधिसहित घटनास्थलतर्फ पुगेका थिए । सोही बाटो हुँदै मार्तडी जाँदै गरेकी जिल्ला अस्पताल बाजुराकी स्वास्थ्यकर्मी निशा रोकायाले समेत घटनाबारे जानकारी पाएपछि तत्काल सहयोग गरेकी थिइन् ।
स्वास्थ्यकर्मी कठायत, रोकाया, ईश्वरी केसीलगायत स्वास्थ्यकर्मी तथा स्थानीयको सहयोगमा सडककै छेउमा आवश्यक प्रसूति सेवा प्रदान गरिएको खडायतले बताएका छन् । तत्काल प्रसूति सेवा दिइएपछि कमलाले सुरक्षित रूपमा बच्चा जन्माएकी हुन् । स्वास्थ्यकर्मीको समयमै सक्रियता र स्थानीयको सहयोगका कारण आमा र नवजात शिशु दुवैको ज्यान जोगिएको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र उनीहरूलाई बाजुरा स्वास्थ्य चौकी टाँटेमा राखेर स्वास्थ्य निगरानी भइरहेको छ ।
बर्खाको समयमा सडक बिग्रिनु, भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण बाजुराका गर्भवती महिलाले अझै पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा बाटोमै प्रसूति गराउनुपर्ने बाध्यता रहेको हस्त खडायतले जानकारी दिनुभयो । आपत्कालीन अवस्थामा स्वास्थ्यकर्मीको तत्परता र स्थानीयको सहयोगले यसपटक सम्भावित दुर्घटना टरे पनि दुर्गम क्षेत्रमा सुरक्षित मातृत्वका लागि सहज यातायात र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको खडायतले बताए । नेपाल न्युज बैंक














प्रतिक्रिया दिनुहोस्