काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नियुक्तिसम्बन्धी प्रक्रिया अघि बढेको हो।
सुनसरी–४ बाट निर्वाचित साहको मन्त्री नियुक्तिसम्बन्धी सिफारिस राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको बताइएको छ। राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज साँझ साढे ५ बजेपछि हुने कार्यक्रम छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि रिक्त बनेको मन्त्रालयको जिम्मेवारी सम्हाल्न साहलाई सिफारिस गरिएको हो। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।
साह पछिल्लो निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेर सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै संसद्मा प्रवेश गरेका थिए। राजनीतिक यात्रामा विभिन्न उतारचढाव पार गरेका साह यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष समेत रहेका थिए। पछि उनले आफ्नै नेतृत्वमा राजनीतिक दल गठन गरेका थिए भने निर्वाचनअघि रास्वपासँग जोडिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। शैक्षिक रूपमा मेकानिकल इन्जिनियरिङमा स्नातक तथा प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका साह देशको उद्योग, व्यापार तथा आपूर्ति क्षेत्रको जिम्मेवारी सम्हाल्ने तयारीमा छन्।
यसअघि आजै दिउँसो निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी थिइन् ।















प्रतिक्रिया दिनुहोस्