काठमाडौं । नेपालमा एकैदिन विभिन्न नाकाबाट १ हजार ८२२ दशमलव ३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। भदौ २६ गतेको विवरणअनुसार भारतसँग जोडिएका ६ वटा नाकामध्ये पाँच नाकाबाट एलपी ग्यास आयात भएको हो।
उक्त परिमाणको एलपी ग्यास करिब १ लाख २८ हजार ३३२ वटा सिलिन्डर बराबर रहेको विवरणमा उल्लेख छ। सबैभन्दा धेरै एलपी ग्यास वीरगन्ज नाकाबाट ७९७ दशमलव १ मेट्रिक टन आयात भएको छ। यो परिमाण करिब ५६ हजार १३४ सिलिन्डर बराबर हो।
त्यसैगरी भैरहवा नाकाबाट ३६४ दशमलव ५ मेट्रिक टन अर्थात् करिब २५ हजार ६७० सिलिन्डर, विराटनगरबाट ३०६ दशमलव ५ मेट्रिक टन अर्थात् २१ हजार ५८५ सिलिन्डर र नेपालगन्जबाट २८३ मेट्रिक टन अर्थात् १९ हजार ९३० सिलिन्डर बराबरको एलपी ग्यास आयात भएको छ।
मेची नाकाबाट भने ७१ दशमलव २ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन करिब ५ हजार १४ सिलिन्डर बराबर हो।
यता धनगढी नाकाबाट भने सो दिन एलपी ग्यास आयात शून्य रहेको छ। विवरणमा उक्त नाकाबाट कुनै पनि मालबाहक गाडी प्रवेश नगरेकाले एलपी ग्यास आयात हुन नसकेको उल्लेख गरिएको छ।
पछिल्लो समय एलपी ग्यासको आपूर्ति र वितरणलाई लिएर उपभोक्तामा चासो बढिरहेका बेला सार्वजनिक भएको यो विवरणले मुलुकमा विभिन्न नाकाबाट भइरहेको ग्यास आयातको अवस्था देखाएको छ। वीरगन्ज नाका एलपी ग्यास आयातको प्रमुख नाकाका रूपमा देखिएको छ।















प्रतिक्रिया दिनुहोस्