काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वलेन्द्र शाह (बालेन) निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाउने टिप्पणी गरे। यस्तै, उनले प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई कुन दिशामा अघि बढाउने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिएको बताए।
दुग्ध विकास संस्थान, हेटौंडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाइ छ । सरकार आफैंले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति लिनुपर्नेमा उनले जोड दिए ।‘मैले अस्ति पार्टीको केन्द्रीय समितिको बैठकमा पनि लामो समय लिएर भनेको छु । हेर्दा सामान्य कुरा लाग्छ । तर दुग्ध विकास संस्थानको हेटौंडा कारखाना, नेपाल औषधि लिमिटेडलगायतका कारखाना चलून्, मुनाफा कमाऊन मेरो शुभेच्छा छ।तर राज्य चलाउने मान्छेले आजको दिनमा राज्यको अर्थतन्त्र कस्तो छ भन्ने बुझ्नुपर्छ।’
२०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै थापाले प्रधानमन्त्रीले रोज्ने आर्थिक बाटोले देशको भविष्य निर्धारण गर्ने बताए । ‘प्रधानमन्त्रीले कतातिर जाने भन्ने निर्णय गर्ने हो, कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो,’ थापाले भने। तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए मुलुकको आर्थिक विकासको आधार निर्माण हुन नसक्ने उनको दाबी थियो। थापाले प्रधानमन्त्री शाहको निजी क्षेत्रप्रतिको दृष्टिकोणबारे कडा टिप्पणी गर्दै भने, ‘अहिले जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । मेरो आफ्नो बुझाइमा उहाँ निजी क्षेत्रलाई घृणा गर्नुहुन्छ ।’ उनले आफूले उक्त धारणा अनुमानका आधारमा नभई प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयका आधारमा राखेको स्पष्ट पारे । ‘यो मैले अनुमानको आधारमा भनेको होइन। उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्ति र निर्णयहरू त्यस्तै छन्,’ थापाले भने । ’
यसैगरी, थापाले सरकारी उद्योग सञ्चालन वा बन्द गर्ने विषयलाई छुट्टाछुट्टै निर्णयका रूपमा नभई देशको समग्र आर्थिक नीति र निजी क्षेत्रको भूमिकासँग जोडेर हेर्नुपर्ने बताए। शुक्रबार प्रमुख प्रतिपक्षी दलका सभापति थापाले प्रधानमन्त्री शाहलाई निजी क्षेत्रप्रति नसकारात्मक रहेको टिप्पणी गरिरहेका बेला प्रधानमन्त्री बालेन भने देशका खर्बपति उद्योगी व्यवसायीसँग छलफलमा छन् । प्रधनमन्त्री सचिवालयका अनुसार खर्बपति उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्रप्रसाद ढकालसँग सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन तथा अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा प्रधानमन्त्रीले छलफल केन्द्रित गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्