काठमाडौं। सरकारले ३१ वर्षअघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) ले औंल्याएका अतिक्रमित सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन, २०५२ मा उल्लेख भएका सरकारी तथा सार्वजनिक जग्गा कार्यान्वयन गर्ने निर्णय गरेको हो।
मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले पेश गरेको प्रतिवेदनका आधारमा यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घुसाइएको उल्लेख भएका कित्ताबाट अतिक्रमित क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको हो। त्यस्तै, प्रतिवेदनमा सम्पूर्ण क्षेत्रफल नै सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख गरिएका कित्ताहरूलाई समेत एकमुष्ट रूपमा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरिएको छ।
रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था छानबिन गरी अतिक्रमित जग्गा पहिचान तथा संरक्षणका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो। लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको उक्त प्रतिवेदनलाई वर्तमान सरकारले पछिल्लो निर्णयमार्फत कार्यान्वयनमा लैजान लागेको हो। आयोगको प्रतिवेदनमा काठमाडौं नगरपालिकाका ३५ वटै वडामा तत्कालीन समयमा शक्तिशाली व्यक्ति, कूटनीतिज्ञ र व्यावसायिक घरानाले मिचेको १ हजार ८५९ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउने भएको हो । साढे १८ सय रोपनीमध्ये ५०० रोपनी सीधै कब्जा र १३०० रोपनी साँध मिसाएर व्यक्ति र संस्थाको नाममा गरिरएको थियो ।
प्रतिवेदन कार्यान्वयन समितिको संयोजकमा प्रमुख नापी अधिकृत रमेश ज्ञवाली रहेका छन्। समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय तथा नापी कार्यालय डिल्लीबजारका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य तथा नापी विभागका नापी अधिकृत सदस्य–सचिव रहेका छन्।















प्रतिक्रिया दिनुहोस्