काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री बालेन्द्र शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूबीच भएको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्।
प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिसहित भेटवार्ता गरेपछि प्रतिक्रिया दिँदै ढकालले आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिका विषयमा प्रधानमन्त्रीको चासो र सकारात्मक धारणा देखिनु उत्साहजनक रहेको बताए।
मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक परे नयाँ कानुनसमेत ल्याएर सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता निजी क्षेत्रका लागि सकारात्मक सन्देश भएको ढकालको भनाइ छ।
ढकालका अनुसार भेटमा निजी क्षेत्रका समस्या, सुझाव तथा नीतिगत विषयमा सरकार र निजी क्षेत्रबीच निरन्तर छलफल र समन्वय गर्ने गरी स्थायी संयन्त्र निर्माण गर्ने विषयमा समेत प्रधानमन्त्री सकारात्मक देखिएका छन्।
उनले व्यवसायी तथा लगानीकर्ताको मनोबल कमजोर देखिएको वर्तमान अवस्थामा सरकार र निजी क्षेत्रबीच प्रत्यक्ष संवाद हुनु महत्वपूर्ण भएको बताए। लगानीको वातावरण सुधार गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको प्रतिबद्धताले निजी क्षेत्रको मनोबल बढाउन सहयोग पुग्ने उनको विश्वास छ।
‘आधा घण्टाका लागि तय भएको भेटघाट दुई घण्टासम्म लम्बिनुले नै छलफल कति अर्थपूर्ण थियो भन्ने देखाउँछ,’ ढकालले भने। उनका अनुसार सरकारले निजी क्षेत्रका समस्या सुन्ने र समाधानका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्न सके त्यसले लगानीको विश्वास बढाउनुका साथै उत्पादन, रोजगारी र राजस्व वृद्धिमा समेत सकारात्मक प्रभाव पार्नेछ।
ढकालले अहिलेको अवस्थामा सरकार र निजी क्षेत्रबीच नियमित संवाद र सहकार्यलाई संस्थागत गर्नुपर्नेमा जोड दिए।
निजी क्षेत्रका समस्या तथा लगानीसम्बन्धी नीतिगत विषयमा तत्काल संवाद गर्न सकिने स्थायी संयन्त्र निर्माण भए त्यसले निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।
सरकार र निजी क्षेत्रबीचको प्रत्यक्ष संवादलाई सकारात्मक सुरुवातका रूपमा लिँदै उनले लगानी विस्तारका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए।















प्रतिक्रिया दिनुहोस्