काठमाडौं। नेपाल धितोपत्र बोर्डले पुँजी बजारको दीर्घकालीन स्थायित्व, पारदर्शिता र आधुनिक पूर्वाधार निर्माणका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार प्रक्रिया अघि बढाएको छ ।
बोर्डले तत्कालका समस्या समाधानसँगै बजारको संरचना नै बलियो बनाउने गरी अनुसन्धान, सार्वजनिक परामर्श र नीतिगत कार्यान्वयनलाई सुधारको आधार बनाएको जनाएको छ ।
आज बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा पुँजी बजारको वर्तमान अवस्था र भावी कार्यदिशाबारे जानकारी दिँदै बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सुधारका योजना पहिले अध्ययन र अनुसन्धान, त्यसपछि सार्वजनिक परामर्श र अन्ततः प्राप्त सुझावका आधारमा नीति परिमार्जन गरी कार्यान्वयन गर्ने तीन चरणमा अघि बढाइएको बताए ।
यसका लागि बोर्डले प्राथमिक बजार र दोस्रो बजार सुधारसम्बन्धी दुईवटा छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेर काम जारी राखेको छ। प्राथमिक बजार सुधार समितिमा नेप्से, नेपाल उद्योग वाणिज्य महासंघ को पुँजी बजार संयोजक र मर्चेन्ट बैंकर एसोसिएसनका प्रतिनिधिहरूलाई समावेश गरिएको छ भने दोस्रो बजार समितिमा सरोकारवाला निकाय तथा बजार सहभागीहरू रहेका छन् । यी समितिहरूमार्फत तीन चरणको वैज्ञानिक पद्धति अपनाएर सुधार अघि बढाइएको हो । भट्टका अनुसार पहिलो चरणमा सम्बन्धित विषयमा अध्ययन गरी कन्सेप्ट पेपर वा श्वेतपत्र तयार गरिने, दोस्रो चरणमा उक्त दस्तावेजलाई बजारका सहभागी तथा सरोकारवालामाझ सार्वजनिक परामर्शमा लगेर सुझाव संकलन गरिने तथा तेस्रो चरणमा प्राप्त सुझाव र बजारको तयारीलाई मूल्यांकन गरी आवश्यक नीतिगत परिमार्जन गरेर सुधारका व्यवस्था कार्यान्वयन गरिनेछ।
प्राथमिक बजारमा आईपीओदेखि म्युचुअल फन्डसम्म सुधार
बोर्डले प्राथमिक बजार सुधारका लागि छुट्टै उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजारसम्बन्धी प्रतिनिधि तथा मर्चेन्ट बैंकर्स एसोसिएसनलगायतका प्रतिनिधिलाई सहभागी गराइएको छ । प्राथमिक बजारतर्फ आईपीओ निष्कासन, मूल्य निर्धारण तथा ‘प्राइस डिस्कभरी’, योग्य संस्थागत लगानीकर्ता, शेयर बाँडफाँट र म्युचुअल फन्डलगायत क्षेत्रमा सुधारका नीति अघि बढाइएको अध्यक्ष भट्टले बताए । यीमध्ये केही सुधारका व्यवस्था कार्यान्वयनमा आइसकेका छन् भने बाँकीलाई बजारको तयारी र सहभागीको क्षमताअनुसार क्रमशः लागू गर्ने बोर्डको योजना छ । बोर्डका अनुसार हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई करिब ४८ अर्ब २५ करोड रुपैयाँ पुँजी परिचालनका लागि स्वीकृति दिइएको छ ।
ब्रोकरलाई पारिवारिक व्यवसायबाट संस्थागत उद्योग बनाइने
दोस्रो बजार सुधारको एउटा प्रमुख विषय ब्रोकर व्यवसायको पुनर्संरचना बनेको छ। बोर्डले सीमित पारिवारिक स्वामित्व र सञ्चालनको घेराबाट ब्रोकर व्यवसायलाई बाहिर निकालेर संस्थागत तथा प्रतिस्पर्धी वित्तीय सेवाको रूपमा विकास गर्ने नीति अघि सारेको छ । अध्यक्ष भट्टका अनुसार ब्रोकर कम्पनीलाई क्षमता र सेवाको प्रकृतिका आधारमा चार श्रेणीमा वर्गीकरण गर्ने तथा स्टक डिलरसिपसहितको विस्तृत संरचनामा लैजाने तयारी गरिएको छ । उनले ब्रोकर व्यवसायलाई ‘एक–दुई जनाको पारिवारिक घेरामा सीमित व्यवसाय’ नभई ठूलो संस्थागत उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
यस्तै, दोस्रो बजारको प्रमुख पूर्वाधारका रूपमा रहेको नेप्सेको संस्थागत तथा प्राविधिक सुधारलाई पनि बोर्डले प्राथमिकतामा राखेको छ । अध्यक्ष भट्टका अनुसार ट्रेडिङ मेकानिजम, अर्डर व्यवस्थापन, साइबर सुरक्षा र सूचना प्रविधिसम्बन्धी क्षेत्रमा करिब ३१ देखि ३२ वटा नियामकीय व्यवस्था तयार गरी कार्यान्वयनको अन्तिम तयारी भइरहेको छ । हालै देखिएका साइबर सुरक्षा तथा प्रणालीगत जोखिमले दोस्रो बजारको प्राविधिक पूर्वाधारलाई थप बलियो बनाउनुपर्ने आवश्यकता देखाएको भन्दै बोर्डले नेप्सेको प्रविधि, कर्मचारी क्षमता र संस्थागत सुशासन सुधारमा जोड दिएको छ ।पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको पुनर्संरचना समितिको प्रतिवेदन कार्यान्वयन गरी सुधारका काम अघि बढाइने भट्टले बताए ।
नयाँ औजार भित्र्याउँदै बोर्ड
बोर्डले दोस्रो बजारको पूर्वाधार सुधारसँगै नयाँ वित्तीय उपकरणका लागि पनि बाटो खोल्ने तयारी गरेको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई सेन्ट्रल काउन्टर पार्टी (सीसीपी) का रूपमा विकास गर्ने तथा पोस्ट–ट्रेड प्रणालीलाई प्रभावकारी बनाउने कामलाई प्राथमिकता दिइएको छ । सीसीपी संरचनाले कारोबारपछिको राफसाफ तथा भुक्तानी प्रक्रियामा थप सुरक्षा र विश्वसनीयता ल्याउने अपेक्षा बोर्डको छ । यही पूर्वाधार तयार भएपछि बजारमा इन्ट्राडे कारोबार, सर्ट सेलिङ र डेरिभेटिभ्स जस्ता नयाँ वित्तीय उपकरण भित्र्याउने गरी प्राविधिक र कानुनी तयारी भइरहेको अध्यक्ष भट्टले जानकारी दिए ।यसले नेपालको दोस्रो बजारलाई परम्परागत शेयर खरिद–बिक्रीमा मात्र सीमित नराखी थप विविध वित्तीय उपकरणसहितको बजारका रूपमा विकास गर्ने बोर्डको दीर्घकालीन योजनालाई संकेत गर्छ। तर, यी उपकरण बजारको तयारी, जोखिम व्यवस्थापन र आवश्यक पूर्वाधारको विकासपछि मात्रै क्रमशः लागू गरिने बोर्डको भनाइ छ ।
लगानीकर्ता बढे, बजारको आकार पनि विस्तार
धितोपत्र बजारको विस्तारसँगै लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको बोर्डले जनाएको छ । समितिमा अध्यक्ष भट्टले दिएको तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ। ‘मेरो सेयर’ खाता सक्रिय प्रयोगकर्ताको संख्या ५१ लाख २२ हजारभन्दा बढी छ भने गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको छ । असोज १३ गतेसम्म नेप्से परिसूचक २६०३.७१ विन्दु मा रहेको र कुल बजार पुँजीकरण ४१ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको बोर्डले जनाएको छ । बढ्दो लगानीकर्ता संख्या र बजारको आकारसँगै जोखिम व्यवस्थापन, सूचना प्रवाह र प्रविधिगत पूर्वाधारलाई पनि समान रूपमा बलियो बनाउनुपर्ने अवस्था सिर्जना भएको बोर्डको तर्क छ ।अध्यक्ष भट्टले पुँजी बजार अब लगानीकर्ताका लागि शेयर किनबेच गर्ने स्थान मात्र नभई पुँजी परिचालन, व्यवसाय विस्तार र सरकारी राजस्व संकलनको महत्वपूर्ण माध्यमका रूपमा विकास भइरहेको बताए ।
‘घाटा भयो भनेर क्षतिपूर्ति बाँड्ने होइन, सूचना दिने हो’
बोर्डले बजार नियमनको आफ्नो दृष्टिकोणलाई पनि जोखिममा आधारित सुपरिवेक्षण, संस्थागत सुशासन, पूर्ण सूचना प्रवाह र क्रमिक नियमनमा केन्द्रित गरेको जनाएको छ । अध्यक्ष भट्टका अनुसार नियामकको भूमिका लगानीकर्ताले घाटा बेहोरेपछि क्षतिपूर्ति बाँड्नेभन्दा लगानीको निर्णय गर्न आवश्यक वित्तीय, संस्थागत र जोखिमसम्बन्धी सूचना पारदर्शी रूपमा उपलब्ध गराउने हुनुपर्छ ।
बजार सहभागीलाई एकैपटक कडा नियम लगाउँदा प्रतिरोध उत्पन्न हुन सक्ने भएकाले सचेतना, सहभागिता र क्रमिक नियमनमार्फत सुधार अघि बढाउने नीति बोर्डले लिएको उनले बताए ।यसैगरी, अध्यक्ष भट्टले नेप्सेको स्वामित्व तथा पुनर्संरचनाको मूल विषय सरकारको क्षेत्राधिकारमा रहे पनि नियमनकारी निकायका रूपमा बोर्ड आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे ।













प्रतिक्रिया दिनुहोस्