काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।
सरकारले तीनवटा अध्यादेश जारी गर्न सिफारिस गरे पनि राष्ट्रपति कार्यालयबाट हाल एउटा मात्रै अध्यादेश जारी भएको हो।
भोटेकोशीमा आएको बाढी तथा त्यसबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्न अध्यादेश ल्याइएको हो। अध्यादेशमा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्ने समयसीमा घटाउने व्यवस्था समावेश गरिएको छ।
हालको व्यवस्थाअनुसार १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने प्रावधान रहेकामा विपद्का घटनामा भने ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था अध्यादेशमा गरिएको छ। यसले विपद्मा बेपत्ता भएका व्यक्तिका परिवारलाई कानुनी प्रक्रिया अघि बढाउन सहज बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ। उक्त अध्यादेशसहित वनसम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको भए पनि दुवैको अध्ययन प्रक्रिया पूरा भइसकेको छैन।















प्रतिक्रिया दिनुहोस्