काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै साढे ४ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ। साउनदेखि असोजसम्मको अवधिमा धान, चामल, कनिका र बिउ आयात गर्न ४ अर्ब ४८ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम विदेशिएको हो।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा ५ करोड ६८ लाख ९३ हजार १२० किलो धानचामलजन्य वस्तु नेपाल भित्रिएको छ। यो परिमाण करिब ५६ हजार ८९३ टन हो। आयातित वस्तुमा अन्य चामल, कच्चा धान र बासमती चामलको हिस्सा ठूलो छ ।
असोजमा मात्रै सवा अर्बको धानचामल आयात
पहिलो दुई महिनाको तुलनामा असोजमा धानचामल आयात ह्वात्तै बढेको छ। साउन र भदौमा कुल ४ करोड ५५ लाख ४३ हजार ९५६ किलो धानचामल आयात भएको थियो। उक्त परिमाण खरिद गर्न ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ खर्च भएको विभागले जनाएको छ। असोजमा मात्रै थप १ करोड १३ लाख ४९ हजार १६४ किलो धानचामल नेपाल भित्रिएको छ। यसको मूल्य १ अर्ब ११ करोड ५ लाख ८६ हजार रुपैयाँ छ। यसरी तीन महिनाको कुल आयातमा असोजको योगदान उल्लेख्य देखिएको छ। दशैंलगायतका चाडपर्वको समय भएकाले खाद्यान्नको माग र बजार आपूर्तिका लागि हुने खरिदले आयातको परिणाम बढाएको हो ।
बासमती चामल किन्न सबैभन्दा धेरै रकम खर्च
आयातको परिमाण र रकम तुलना गर्दा परिमाणका आधारमा अन्य चामल र कच्चा धान अगाडि छन् भने रकमका आधारमा बासमती चामल पहिलो स्थानमा छ । विभागको तथ्यांकअनुसार पहिलो तीन महिनामा २ करोड ३० लाख ७४ हजार ४२८ किलो अन्य चामल आयात भएको छ । यसको मूल्य १ अर्ब ६४ करोड ५९ लाख ३२ हजार रुपैयाँ छ । त्यस्तै, १ करोड ८७ लाख १८ हजार ६६० किलो कच्चा धान आयात गर्न ८४ करोड ६१ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ। यस्तै, बासमती चामल मात्र १ करोड ४४ लाख ४९ हजार ४५६ किलो आयात भएको छ । यसको मूल्य १ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बढी रहेको छ । परिमाणका आधारमा तेस्रो स्थानमा रहेको बासमती चामलको मूल्य उच्च भएकाले यसमा सबैभन्दा धेरै रकम बाहिरिएको हो ।
कनिका र ब्राउन राइसको आयात न्यून
पहिलो तीन महिनामा ६ लाख ४९ हजार ६६० किलो कनिका नेपाल आयात भएको छ । यसको मूल्य २ करोड ७१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, ब्राउन राइस ८४९ किलो मात्रै आयात भएको छ । यसको मूल्य १ लाख १५ हजार रुपैयाँ छ । सबैभन्दा कम परिमाणमा धानको बिउ आयात भएको छ। चीन र भारतबाट गरी ६७ किलो धानको बिउ नेपाल भित्रिएको विभागले जनाएको छ। यसको मूल्य ५ लाख १ हजार रुपैयाँ छ । नेपालमा धानचामल मुख्यतः भारतबाट आयात हुने गरेको छ। इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट पनि थोरै परिमाणमा धानचामलजन्य वस्तु आयात हुने गरेको भएपनि सबैभन्दा धेरै नेपालले भारतबाटै आयात गर्दै आएको छ । चालु आवको पहिलो त्रैमासको विवरणले नेपालमा धानचामलको माग पूरा गर्न अर्बौं रुपैयाँ विदेशिने क्रम जारी रहेको स्पष्ट देखाएको छ।















प्रतिक्रिया दिनुहोस्