काठमाडौं। नेपाल बैंक लिमिटेडले विशेष सुविधासहितको आवास कर्जा योजना सार्वजनिक गरेको छ ।
९०औँ वार्षिकोत्सवको अवसरमा बैंकले ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ नाम दिएर ९० दिनका लागि यो योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । बैंकका अनुसार कर्जाको ब्याजदर आधार दरमा ०.५ प्रतिशत प्रिमियमबाट सुरु हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत मात्रै लाग्नेछ ।
आवास कर्जालाई थप आकर्षक बनाउन बैंकले कर्जाग्राहीलाई अन्य सुविधासमेत उपलब्ध गराउने जनाएको छ। योजनाअन्तर्गत कर्जा लिने ग्राहकले ५ लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । त्यस्तै, बैंकको लकर सुविधामा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ । बैंकले यो योजना २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म लागू हुने जनाएको छ। बैंक आगामी कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ । वार्षिकोत्सवको अवसरमा ल्याइएको यस योजनाले घर खरिद तथा निर्माण गर्न चाहने ग्राहकलाई सहुलियतपूर्ण सर्तमा कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभरका २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग र ग्राहक सेवामा सुधार गर्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ । नयाँ आवास कर्जा योजनामार्फत ग्राहकलाई घरजग्गासम्बन्धी वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।















प्रतिक्रिया दिनुहोस्