काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
काठमाडौं उपत्यकासहित विभिन्न सहरमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रादेशिक तथा शाखा कार्यालयमार्फत रक्तदान कार्यक्रम गर्न लागेको हो। बैंकका अनुसार कोशी प्रदेशको विराटनगरमा कात्तिक १५ गते रक्तदान कार्यक्रम आयोजना हुनेछ। त्यस्तै, काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको बर्दिबास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, बुटवल, घोराही र महेन्द्रनगरमा कात्तिक १८ गते कार्यक्रम सञ्चालन गरिनेछ।
रगत अभावका कारण बिरामीको उपचारमा पर्न सक्ने कठिनाइलाई कम गर्न तथा रक्तदानप्रति सामाजिक उत्तरदायित्व र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ। बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष वृहत् रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
वार्षिकोत्सवकै अवसरमा बैंकले छैटौँ अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय फुटसल प्रतियोगितासमेत आयोजना गर्ने भएको छ। कात्तिक १४ र १५ गते काठमाडौंको धन्वन्तरी फुटसल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा आर्थिक पत्रकारहरूको संगठन सेजन, नाफिज र इमानसहित ३० वटा अन्य बैंक तथा वित्तीय संस्थाका टोली सहभागी हुनेछन्। प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच आपसी सम्बन्ध, सहकार्य र खेलकुद संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्