काठमाडौं । क्रिकेटको मैदानमा प्राप्त सफलतालाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यले सुरु गरिएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ।
जनकपुर बोल्ट्सकी एम्बेसडर डा. सरीषा श्रेष्ठको नेतृत्वमा सञ्चालित उक्त अभियानमा आर्क्स ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ। ग्रुपले अभियानका लागि प्रारम्भिक १ लाख ५० हजार रुपैयाँको शैक्षिक सहयोग कोष स्थापना गरेको छ। अभियानअन्तर्गत तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लिने प्रत्येक विकेट र प्रहार गर्ने प्रत्येक छक्काबापत दुई हजार रुपैयाँ छात्राहरूको शिक्षाका लागि योगदान गरिनेछ। टोलीले पहिलो खेलमा नौ विकेट लिनुका साथै पाँच छक्का प्रहार गरेपछि कुल २८ हजार रुपैयाँ संकलन भएको हो।
अभियानले मधेश प्रदेशका आर्थिक रूपमा विपन्न छात्राहरूलाई शिक्षामा पहुँच र निरन्तरता कायम राख्न सहयोग गर्ने लक्ष्य लिएको छ। कम्तीमा १० जना छात्रालाई विद्यालय पोसाक, पुस्तक, शैक्षिक सामग्री, परीक्षा शुल्क तथा यातायात खर्चमा सहयोग गर्ने योजना छ। अभियानअन्र्तगत आर्थिक अवस्था र विद्यालय छाड्नुपर्ने जोखिमका आधारमा लाभग्राही छनोट गरिनेछ।















प्रतिक्रिया दिनुहोस्