काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ‘Visit Nepal’ अभियान सुरु गरेको छ।
शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो। अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति, मौलिक परम्परा तथा विविध पर्यटकीय गन्तव्यलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ। यो अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत टिकटकले युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ। उनीहरूले अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरी आफ्ना अनुभव तथा दृश्यहरू टिकटकमार्फत विश्वभर साझा गरिरहेका छन्।
यस पहलले नेपालका चर्चित पर्यटकीय गन्तव्यसँगै कम चिनिएका र ओझेलमा परेका आकर्षक स्थानहरूको समेत अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुने अपेक्षा गरिएको छ।
पर्यटनसम्बन्धी सामग्रीको पहुँच विस्तार र दर्शकको सहभागिता बढाउन टिकटकले ‘Visit Nepal’ नामक छुट्टै ह्यासट्याग पेजसमेत सञ्चालनमा ल्याएको छ। टिकटकको कोल्याब फिचर प्रयोग गरी नेपाल पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय कन्टेन्ट क्रिएटरसँग सहकार्य गरिरहेको छ। त्यस्तै, लोकप्रिय पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिम सञ्चालन गरी विश्वभरका दर्शकलाई नेपालको भर्चुअल भ्रमण गराउने प्रयास पनि गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लेटफर्मले पर्यटकीय गन्तव्यको प्रचारप्रसार र जानकारी प्राप्त गर्ने परम्परागत तरिकामा परिवर्तन ल्याएको बताए।
उनले एउटा स्थानमा सिर्जना गरिएको सामग्रीले विश्वको अर्को कुनामा रहेका मानिसलाई नेपाल भ्रमण गर्न प्रेरित गर्न सक्ने उल्लेख गर्दै टिकटकलाई नेपालको पर्यटन, संस्कृति, सिर्जनशीलता र युवालाई विश्वसँग जोड्ने दीर्घकालीन साझेदारका रूपमा स्वागत गरे।
त्यसैगरी, टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका (MEA) क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यबाट नेपालको पर्यटकीय सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्य रहेको बताए।
उनका अनुसार अभियानले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्नुका साथै नेपाली कन्टेन्ट क्रिएटरलाई प्रोत्साहन, साना व्यवसायलाई सहयोग र डिजिटल अर्थतन्त्रबाट स्थानीय समुदायले लाभ लिन सक्ने अवसर सिर्जना गर्नेछ।
नेपाल पर्यटन बोर्डसँग टिकटकको यो सहकार्य यसअघिका गतिविधिको निरन्तरता पनि हो। यसअघि टिकटक र बोर्डको सहकार्यमा डिजिटल स्टोरीटेलिङ सीप विकाससम्बन्धी कार्यशाला सञ्चालन गरी ३०० भन्दा बढी नेपाली पर्यटन उद्यमी तथा कन्टेन्ट क्रिएटरलाई तालिम प्रदान गरिएको थियो।
यस अभियानले पर्यटन प्रवर्द्धनसँगै स्थानीय सिर्जनाकर्मी, पर्यटन व्यवसायी तथा समुदायलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्