काठमाडौं। नेपालको विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड बराबर रहेको छ।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ८.२ प्रतिशतले बढेको हो। असार मसान्तमा कुल सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको प्रतिवेदनमा उल्लेख छ। असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ। सञ्चितिमा भएको वृद्धिसँगै मुलुकको आयात धान्न सक्ने क्षमतासमेत मजबुत देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६३ प्रतिशत, १४३.७ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ। विदेशी विनिमय सञ्चितिमा भएको यो वृद्धिले मुलुकको बाह्य क्षेत्रको अवस्था र विदेशी भुक्तानी क्षमता थप सबल बनेको संकेत गरेको छ।














प्रतिक्रिया दिनुहोस्