Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

भृकुटीमण्डपमा कृषि यान्त्रिकीकरण मेला, आधुनिक प्रविधि र स्वदेशी उद्योग स्थापनामा जोड (तस्बिरहरु)

भृकुटीमण्डपमा कृषि यान्त्रिकीकरण मेला, आधुनिक प्रविधि र स्वदेशी उद्योग स्थापनामा जोड (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं। कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बढ्दो आयात निर्भरता घटाउन कृषि यान्त्रिकीकरणको विस्तार तथा स्वदेशमै कृषि उपकरण उत्पादन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले आधुनिक प्रविधिको प्रयोग, किसानलाई सहज वित्तीय पहुँच, गुणस्तरीय उपकरणको उपलब्धता र नीतिगत सुधारमार्फत कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ मा नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले कृषि यान्त्रिकीकरणको विकासका लागि सरकारी नीति, पूर्वाधार र वित्तीय सहजीकरण आवश्यक रहेको बताएका हुन्।

यस वर्षको प्रदर्शनीमा बीउबिजन, पशुपालन, मल, दाना, मौरीपालनलगायत कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा संस्थाको सहभागिता रहेको उनले जानकारी दिए । कृषि यान्त्रिकीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले कृषि मेसिनरी आयातमा भन्सार छुट, किसानलाई उपकरण खरिदका लागि सहज ऋण र मर्मतसम्भारसम्बन्धी तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले केन्द्रीयस्तरको कृषि यान्त्रिकीकरण प्रदर्शनीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने र हालको प्रदर्शनीस्थलको भौतिक अवस्था सुधार गर्नुपर्नेमा समेत जोड दिए ।ग्लोबल आइएमई बैंकका कार्यकारी निर्देशक सुरेन्द्रराज रेग्मीले कृषि क्षेत्रमा अपेक्षित उत्पादन र उत्पादकत्व हासिल गर्न आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताए । किसान र प्रविधिलाई एउटै मञ्चमा जोड्ने प्रदर्शनीले कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याउने उनको भनाइ थियो । बैंकले नेपालको भौगोलिक अवस्था र खेती प्रणालीलाई ध्यानमा राखेर कृषि क्षेत्रमा वित्तीय साझेदारको भूमिका निर्वाह गरिरहेको उनले बताए ।

खाद्य तथा कृषि संगठन (एफएओ) का कार्यक्रम व्यवस्थापक दीपक तुलाधरले जलवायु परिवर्तन, श्रमिक अभाव र युवाहरूको कृषि क्षेत्रप्रतिको घट्दो आकर्षणले कृषि यान्त्रिकीकरणको आवश्यकता थप बढाएको बताए । यद्यपि, आवश्यकताभन्दा बढी वा अनुपयुक्त उपकरण प्रयोग गर्नुभन्दा किसानको आवश्यकता र खेती प्रणालीअनुसार प्रविधि छनोट गर्नुपर्ने उनले उल्लेख गरे ।

एफएओले उत्पादन, भण्डारण र प्रशोधनका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै उनले साना किसानले महँगा उपकरण खरिद गर्न नसक्ने अवस्थालाई ध्यानमा राखेर यान्त्रिकीकरणको सुविधा सहज रूपमा उपलब्ध गराउनुपर्ने बताए । यसका लागि जलवायुमैत्री कृषि यान्त्रिकीकरण प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।

बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधिर श्रेष्ठले कृषि उपकरणमा अनुदान वितरण गर्दा किसानको वास्तविक आवश्यकता र उपकरणको उपयोगितालाई आधार बनाउनुपर्ने बताए। अनुदानका कारण कतिपय स्थानमा आवश्यकताभन्दा बढी उपकरण पुगेको र प्रयोगविहीन अवस्थामा थन्किएको उल्लेख गर्दै उनले अनुदान प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले कृषि यान्त्रिकीकरणमा अनुदानको अत्यधिक प्रयोगले उपकरणको महत्त्व र गुणस्तरमा समेत असर पार्न सक्ने बताए। कृषि उपकरणको गुणस्तर कायम राख्न व्यवसायीहरू जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले केही व्यवसायीको कमजोरीका कारण समग्र क्षेत्रकै विश्वसनीयता प्रभावित हुन नहुने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य देवेन्द्र गौचनले कृषि यान्त्रिकीकरणलाई उत्पादन वृद्धि, लागत न्यूनीकरण र कृषि क्षेत्रको समग्र रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्ने बताए। यसका लागि प्रविधिको प्रयोगसँगै नीतिगत स्पष्टता, लगानी वृद्धि र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । किसानको वास्तविक आवश्यकता तथा देशको भौगोलिक अवस्थाअनुसार यान्त्रिकीकरण विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल कृषि अनुसन्धान परिषद्का प्रतिनिधिले कृषि यान्त्रिकीकरणको क्षेत्रमा पछिल्लो समय सकारात्मक काम भइरहेको उल्लेख गर्दै दिगो प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताए ।कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले गाउँगाउँसम्म कृषि यान्त्रिकीकरणको पहुँच विस्तार हुँदै जाँदा किसानलाई खेतीपाती गर्न सहज भएको बताए। सरकारले यस क्षेत्रमा ठूलो लगानी गर्दै आएको उल्लेख गर्दै उनले समयअनुसार कृषि यान्त्रिकीकरण नीति पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले कृषि उपकरण उपलब्ध गराउनु मात्र पर्याप्त नहुने भन्दै तिनको सञ्चालन, मर्मतसम्भार र आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । अनुदान वितरणलाई प्रभावकारी बनाउन तथा उपकरण मर्मतसम्भारको सेवा विस्तार गर्न व्यवसायीलाई उनले आग्रह गरे ।

नामियाकी उपाध्यक्ष सुनिता निमाफुकेले कृषि यान्त्रिकीकरणको विकासका लागि सरकार, व्यवसायी र किसानबीच सहकार्य आवश्यक रहेको बताइन् । कृषि उपकरणको पहुँच गाउँगाउँसम्म पुर्‍याउने, किसानलाई आधुनिक प्रविधिबारे जानकारी दिने तथा उपकरण सञ्चालन र मर्मतसम्भारसम्बन्धी सीप विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

यान्त्रिकीकरणले उत्पादन लागत घटाउनुका साथै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउनसमेत सहयोग पुग्ने उनले बताइन् ।‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ ।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी सञ्चालन गरिएको हो। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको प्रदर्शनीमा तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। आयोजकले ५० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरेको छ ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह र शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि राखिएका छन् । प्रदर्शनीले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

तस्बिर : राम थापा

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit