काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक सञ्चालन गर्ने आफ्ना सम्पूर्ण प्रतियोगिता तथा कार्यक्रमको टिकट बिक्रीसम्बन्धी विशेष अधिकार निजी क्षेत्रलाई दिने प्रक्रिया अघि बढाएको छ।
क्यानले मंगलबार आगामी दुई वर्षका लागि टिकटिङ अधिकार बिक्री गर्न राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (नेसनल कम्पिटिटिभ बिडिङ) आह्वान गरेको हो। सूचनाअनुसार एनपीएल भने टिकटिङ अधिकार बिक्रीको दायराभन्दा बाहिर रहनेछ। क्यानले आयोजना गर्ने अन्य राष्ट्रिय तथा प्रतिस्पर्धात्मक क्रिकेट प्रतियोगिता र कार्यक्रमको टिकट व्यवस्थापन भने छनोट हुने कम्पनीले गर्नेछ। बोलपत्र प्रक्रियामा सहभागी हुन इच्छुक कम्पनी तथा संस्थाले आगामी नोभेम्बर ३०, २०२६ सम्म कार्यालय समयभित्र बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन्। त्यसका लागि काठमाडौंको मूलपानी–६ स्थित क्यानको कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ। संघको आधिकारिक वेबसाइटबाट समेत कागजात डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। बोलपत्र कागजातको दस्तुर १० हजार रुपैयाँ तोकिएको छ, जुन फिर्ता हुने छैन।
बोलपत्रदाताले आवश्यक प्रक्रिया पूरा गरी तयार पारेका सिलबन्दी प्रस्ताव डिसेम्बर १, २०२६ को दिउँसो १२ बजेसम्म क्यानको मूलपानीस्थित कार्यालयमा बुझाइसक्नुपर्नेछ। प्रस्ताव कार्यालयमै उपस्थित भएर वा कुरियरमार्फत पठाउन सकिनेछ। तोकिएको समयपछि प्राप्त हुने बोलपत्र स्वीकार नगरिने क्यानले जनाएको छ।प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछ। बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म प्रस्ताव मान्य रहनुपर्नेछ। यस प्रक्रियामा सहभागी हुन न्यूनतम १४ लाख रुपैयाँको बोलपत्र धरौटी (बिड सेक्युरिटी) अनिवार्य गरिएको छ। उक्त धरौटीको मान्य अवधि बोलपत्रको मान्यताभन्दा थप ३० दिन अर्थात् कुल १२० दिनसम्म कायम हुनुपर्ने व्यवस्था छ।
त्यस्तै, बोलपत्र बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिनेछ। यद्यपि, यस्तो अवस्थामा पनि बोलपत्रको मान्यता अवधि र धरौटीको म्याद भने सुरुमा तोकिएको समयसीमाअनुसार नै गणना हुने क्यानले स्पष्ट पारेको छ। समग्रमा, एनपीएललाई छुट्टै व्यावसायिक संरचनाअन्तर्गत राख्दै अन्य प्रतियोगिताको टिकटिङ व्यवस्थापन निजी क्षेत्रमार्फत सञ्चालन गर्ने क्यानको तयारी देखिएको छ।















प्रतिक्रिया दिनुहोस्