
काठमाडौं । सीएफ मोटो २५० एनकेका राइडर– रेस वार्सको उपाधि दिलिप दनुवारले जितेका छन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लब नेपाल र मोटो वर्ल्ड नेपालले आयोजना गरेको सो रेस वार्समा २२ राइडरलाई पछि पार्दै राइडर दनुवारले रेस जितेका हुन् ।
प्रतियोगितामा केटीएम ड्युक २५० राइडर अभिनव राज मल्लले दोस्रो स्थान हाँसिल गर्दा केटीएम ड्युक २०० राइडर विवेक पाण्डेले तेस्रो स्थान हासिल गरेका थिए । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित प्रतियोगितामा विभिन्न बाइकमा सवार राइडरहरु प्रतिस्पर्धामा उत्रेका थिए ।
सोही अवसरमा नेपालमा सीएफ मोटोको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो २५० एनके बाइकको मूल्यमा समेत ५० हजार रुपैयाँ कटौती गरेको घोषणा गरेको छ ।
सो बाइकको मूल्य पहिले ५ लाख ९९ हजार ९ सय रुपैयाँ भएकोमा अब ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीका अनुसार अब नेपालमै यो बाइक एसेम्बल हुने भएकाले मूल्य समायोजन गरिएको हो । त्यसैगरी सीएफ मोटोको नेपालमा उपलब्ध नयाँ बाइक ३०० एनकेको मूल्य समेत सार्वजनिक गरिएको छ । बाइकको मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सीएफ मोटो २५० एनकेमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.५ किलोवाटको पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ ।
यसमा ड्युअल च्यानल एबीएस, एलसीडी डिस्प्ले, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र १५० एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता रहेका छन् । यसमा १२.४ लिटरको इन्धन ट्यांकी रहेको सीएफ मोटोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्