काठमाडाैं । घाम पावरले आफ्ना साझेदारहरू प्राक्टिकल एक्शन र स्वानबार्टनसँग मिलेर संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (UNIDO) द्वारा अनुमोदित नेपालकै सबैभन्दा ठूलो ऊर्जा भण्डारण प्रणाली जडान गर्न आधिकारिक रूपमा परियोजना प्राप्त गरेको छ। यस परियोजनाअन्तर्गत ४ मेगावाट-घण्टा (MWh) क्षमताको ब्याट्री भण्डारण प्रणाली स्थापना गरिनेछ, जसले उद्योगहरूलाई डिजेल खपत घटाउन र स्मार्ट ग्रिडहरूको विकासमार्फत कार्बन न्यूनीकरणको मार्गमा अघि बढ्न मद्दत गर्नेछ।
यस परियोजनाको उद्घाटन संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन(UNIDO)का महानिर्देशक गेर्ड म्युलरले गरेका थिए, जसमा पाँच विभिन्न देशका राजदूतहरूको उपस्थिति रहेको थियो। नेपालका तर्फबाट नेपाली राजदूत भरत कुमार रेग्मी, घाम पावरका सीईओ अञ्जल निरौला, र स्वानबार्टन तथा प्राक्टिकल एक्शनका टोलीहरू सहभागी थिए।
उद्योग क्षेत्रमा ऊर्जा व्यवस्थापनको नयाँ क्रान्ति
यस अग्रणी परियोजनाले प्रदूषणकारी डिजेल जेनरेटरहरू हटाएर ठूलो मात्राको ब्याट्री भण्डारण प्रणाली स्थापना गर्नेछ, जसलाई सौर्य ऊर्जाबाट सञ्चालित गरिनेछ। यसले महँगो र हानिकारक इन्धन स्रोतहरू प्रयोग गर्न रोक लगाउँदै २,८०० टन कार्बन उत्सर्जन न्यूनीकरण गर्नेछ र आगामी २५ वर्षमा १,००० किलोलीटर डिजेल विस्थापित गर्नेछ।
यस प्रणालीमा एआई(संचालित ऊर्जा अनुकूलन प्रविधि समावेश गरिनेछ, जसले ऊर्जा लागत घटाउने, भरपर्दो ऊर्जा आपूर्ति गर्ने र दीगो ऊर्जा उपयोगलाई प्रोत्साहित गर्नेछ। यो नेपालका उद्योगहरूका लागि मात्र होइन, समग्र ऊर्जा रूपान्तरणको दिशामा एक महत्वपूर्ण उपलब्धि हुनेछ।
नेपालको ऊर्जा रुपान्तरणको दिशामा ऐतिहासिक पाइला
घाम पावर UNIDO को Accelerate-to-Demonstrate (A2D) Facility अन्तर्गत विश्वभरबाट छानिएका ५ उत्कृष्ट परियोजनाहरू मध्ये एक बन्न पुगेको छ। यस परियोजनाले एआई(आधारित ऊर्जा व्यवस्थापन समाधानहरू प्रस्तुत गर्दै, सौर्य तथा भण्डारण प्रविधिमा नयाँ युगको सुरुवात गर्नेछ। घाम पावरले प्रविधि, नवाचार र निरन्तर प्रयासमार्फत नेपाललाई स्वच्छ, स्मार्ट र भरपर्दो ऊर्जा भविष्यतर्फ अगाडि बढाइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्