काठमाडौं । सिंगापुरमा भएको एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका देशहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औँ सम्मेलनमा नेपालले अर्थपूर्ण सहभागिता जनाएको छ ।
सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली सहभागी भएको थियो । नेपाली टोलीको नेतृत्वकर्ता सिंहले सम्मेलनमा निर्माण उद्योगको विकासका लागि इफाप्का जस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबिचको सहकार्य जरुरी भएको बताएका थिए ।
इफाप्का अध्यक्ष समेत रहेका सिंहले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको शिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको बताउँदै नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य भएको धारणा राखेका थिए ।
निर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारा सहित ४७ औँ इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको हो । सम्मेलनकै अवधिमा आयोजना गरिएका इफाप्का मातहतका विभिन्न समिति बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो ।
यसैबिच भव्य रूपमा ४६ औँ इफाप्का सम्मेलन सम्पन्न गरेको भन्दै नेपाललाई सम्मान गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा तत्कालीन इफाप्का अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र तत्कालीन इफाप्का महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डेलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
पाँचौँ पटक इफाप्का सम्मेलनमा भाग लिए बापत नेपालका अनिल सिलवाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । सम्मेलनमा सहभागी नेपाली टोलीले छोटो अवधिमा सिंगापुर एवं मलेसियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिको स्थलगत अवलोकन पनि गरेको थियो । सम्मेलन २०८१ को चैत्र २५ बाट सुरु भई २९ गते सम्म चलेको थियो ।

















प्रतिक्रिया दिनुहोस्