Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तत्कालिन एसपी पण्डितको ठाडो आदेशमा इन्सपेक्टर मैनालीले जाहेरी समेत दर्ता गरेनन्, जसलाई न्याय दिनुपर्ने उसैलाई प्राण त्याग्न बाध्य पारियो

तत्कालिन एसपी पण्डितको ठाडो आदेशमा इन्सपेक्टर मैनालीले जाहेरी समेत दर्ता गरेनन्, जसलाई न्याय दिनुपर्ने उसैलाई प्राण त्याग्न बाध्य पारियो
विज्ञापन
Advertisement

सिरहा।  गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका- ३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो।

विज्ञापन
Advertisement
Advertisement

माइतीमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षिय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका- १ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन्। बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कार प्रयास गरे।

त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल भइन् तर त्यस घटनाले उनलाई बाँच्न भने दिएन। घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौँतारिरहिन्। चारैतिरबाट न्यायको आश मरेपछि अन्ततः मृत्यु नै अन्तिम विकल्प बनायो। मंगलबार माइतीघरमै झुण्डिएको अवस्थामा उनी मृत फेला परिन्।

‘घटना घटेको दिन आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै रुँदै र कराउँदै घर आएकी थिइन्’, आनन्दीदेवीकी भाउजू विनीतादेवी सदायले उक्त दिनको घटनाबारे भनिन्, ‘उनको कम्मरमुनिको कपडा धुजाधुजा पारी च्यातिएको थियो। हातको पाखुरामा चोट लागेको थियो। जीउको विभिन्न भागमा दाँतले टोकेको स्पष्ट डोब थिए।’

आनन्दीदेवीलाई जबर्जस्ती करणीको प्रयास गर्ने दुई व्यक्तिले शुरुमा पैसा दिन्छौँ भन्दै फकाउने प्रयास गरेको उनले बताइन्।। ‘तीन हजार पैसा दिन्छौँ हामीसँग हिँड् भनेपछि नन्दले इन्कार गर्दै प्रतिकार गरेपछि श्यामले हातपात गर्दै घिसार्दै नजिकै रहेको परालको कुन्यूँमा लगे। अर्का पीडक सञ्जीवले मोबाइलबाट भिडियो खिचे। नन्दले यो कुरा मलाई सुनाउनुभएको थियो। उहाँ प्रतिकार गर्दै त्यहाँबाट उम्केर जसोतसो नन्द घर आइपुग्नुभयो’, भाउजू विनीतादेवीले भनिन्।

प्रहरीद्वारा जाहेरी दर्ता गर्न आलटाल 

घटना भएको दिन आनन्ददेवीका श्रीमान् उमेश सदाय ससुराली घरमै थिए। श्रीमतीमाथि घटना घटिसकेपछि सोही दिन अर्थात् पुस ९ गते श्रीमानसहित आनन्दीदेवीले महेशपुरस्थित पतारी प्रहरी चौकीमा आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै किटानी जाहेरी दिएका थिए। तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेको मृतक आनन्दीदेवीका श्रीमान् उमेशले बताए।

‘प्रहरीले सुरुमा जाहेरी दर्ता गर्ने र पीडकमाथि कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको थियो। यसको लामो समयसम्म प्रहरीबाट घटना सम्बन्धमा कुनै प्रतिक्रिया आएन। माघ ४ गते मात्रै प्रहरीले जाहेरी दर्ता भएको भन्दै एउटा कागजमा दर्ता नम्बरसहितको चिट दियो। फेरि त्यसको भोलिपल्ट पुनः कार्यालयमा बोलाएर उक्त दर्ता नम्बरको कागज हाम्रै सामुन्नेमा प्रहरी च्यातिदियो’, उनले भने।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मानवअधिकारकर्मीको समूहले मार्च ६ तारिखका दिन नवराजपुरमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा आफ्नो पीडा सुनाउन आनन्दीदेवी र उनकी आमा बिलटौनदेवी सदाय उपस्थित भए।  महेशपुर पतारी प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रबिन मैनालीसमेत उपस्थित कार्यक्रममा पीडित आनन्दीदेवीले प्रहरीले आफूमाथि भएको घटनाको जाहेरी दर्तासमेत नगरेको बताएको मानवअधिकारकर्मी मुक्ति नेपालका अध्यक्ष देवकुमारी महराले जानकारी दिइन्। त्यसपछि जिल्लास्थित मानवअधिकारकर्मीको संयुक्त टोलीले घटनासम्बन्धमा चासो राखी प्रहरीलाई दबाब दिएपछि मात्रै जाहेरी दर्ता भएको उनको भनाइ छ।

प्रहरी निरीक्षक मैनालीले तत्कालीन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितको ठाडो आदेशका कारण आफूले जाहेरी दर्ता नगरेको जवाफ दिए। त्यसपछि हामीले जिल्ला प्रहरीमा दबाब सिर्जना गरेका कारण भोलिपल्ट जाहेरी दर्ता त भयो तर कुनै पनि अनुसन्धान प्रक्रिया अघि बढेन।

घटना सार्वजनिक भइसकेको, पीडितले न्यायका लागि गुहारिसकेको अवस्था पनि प्रहरी प्रशासनले त्यसलाई गम्भीर रूपमा नलिएकाले आनन्दीदेवी ज्यान गुमाउन बाध्य हुनुपरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपाल सिरहाका प्रतिनिधि दुर्गा परियारले बताइन्।  मानवअधिकारकर्मीको तीव्र दबाबका बीच पीडितलाई न्याय दिलाउन प्रहरीले उदासीनता नदेखाएको भए यस्तो अवस्था नआउने उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले गत फागुन २५ गते उक्त घटना सम्बन्धमा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जानकारी दिए। किटानी जाहेरी दिएको ७५ दिनपछि मात्रै मुद्दा दर्ता भएको देखिएकाले किन त्यसो भएको हो भनेर बुझ्नुपर्ने उनको भनाइ छ। ‘गत फागुन २५ गते यस घटना सम्बन्धमा पीडितका तर्फबाट जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको रहेछ। पीडकहरू फरार छन्। पीडितमाथि यौन दुर्व्यवहारपश्चात् प्रहरीले मेडिकल जाँच र जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम समयमै गरेको पाइन्छ। हामी अनुसन्धानकै क्रममा छौँ। बुधबार पीडित परिवारलाई भेटेर जानकारीसमेत लिएका छौँ’,  प्रहरी उपरीक्षक शर्माले भने।

मिलापत्रको प्रयास 

कानूनअनुसार यस्तो घटनालाई मिलाउन ‘पञ्चायत बस्न’ वा गाउँमै मिलापत्र गर्न मिल्दैन तर घटना मिलापत्र गर्न भन्दै पीडितलाई दबाब आएको परिवारले जनाएको छ। ‘प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेकै बेला घटनामा संलग्न व्यक्तिका आफन्त आएर एक लाख दिने र गाउँघरको घटना गाउँमै मिलाउनुपर्छ, बाहिर लैजानु हुँदैन भन्दै दबाब दिए। गरिबको पनि इज्जत हुन्छ। हामीलाई न्याय चाहिन्छ, पैसा होइन भन्ने जवाफ दियौँ तर न्याय पाइएन’ मृतककी भाउजू विनीतादेवीले भनिनन्।

कानुन बुझेका शिक्षक र कानुनको पालना गराउने र न्याय दिलाउने जिम्मेपवारीमा रहेका केह्री प्रहरी अधिकारीले पनि मिलापत्रका लागि दबाद दिएको परिवारको आरोप छ। मृतककी आमा बिलटौनदेवी सदायले भनिन्, ‘कानुनको कार्यान्वयन गर्ने व्यक्ति र निकायबाटै छोरीमाथि ज्यादती भएको छ। यस्तो ज्यादती गर्ने र पैसा नभएको व्यक्ति मुद्दा नलड्न भन्दै मिलापत्र गर्न उक्साउनेमाथि पनि अनुसन्धान हुनुपर्छ।’

यस्तै वडा नं ३ का अध्यक्ष वंशीलाल यादवले घटनामा जिम्मेवार निकायबाटै कमजोरी भएकाले पीडितले ज्यान गुमाउनु परेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरे। घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit