काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड गर्नेमाथि कडाभन्दा कारबाही गर्न माग गरेका छन् ।
शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आन्दोलनका दोषीमाथि कारबाहीको माग गरेका हुन् ।अध्यक्ष ढकालले गत भदौ २३ र २४ गते आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने उल्लेख गरे ।
युवा पुस्ताको आन्दोलन र माग बमोजिम मुलुकमा भ्रष्टाचार न्युनिकरण गरी शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको पनि ढकालको भनाइ छ । तर, जेनजी आन्दोलनमा निजी क्षेत्र धेरै आहत भएको ढकालले बताए । उनले भने, ‘ निजी क्षेत्र विगतका आन्दोलनहरु भन्दा यसपटक बढी आहत भएको छ । जसो तसो जोहो गरेर, सरसापट गरेर, ऋण काडेर उद्यमीले लगानी गरेको हुन्छ । रोजगारीको अवसर सिर्जना गरेको हुन्छ । तर पनि उद्यमी व्यवसायीका शयन कक्षसम्म लुटपाट भएको छ । व्यापार व्यवसायमा आगो लागेको छ ।’
अध्यक्ष ढकालले देशमा राजश्वमा योगदान पुर्याउने निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको तर निजी क्षेत्रमाथि नै हमला हुनु दुःखको विषय भएको धारणा राखे । आन्दोलनमा उद्यमी व्यवसायीका घरमा लुटपाट भएको तथा व्यापार व्यवसायमा आगो लागाइएको घटनाले सबैले आफैंलाई फर्केर हेर्न बाध्य पारेको उनको भनाइ छ । उनले भने, ‘हामी पनि समिक्षा गर्दैछौं हामी कहाँ चुक्यौ । अनि समाज कहा चुक्यो । हामीकहाँ नाफा आर्जन गर्नु नै अपराधको ? व्यवसायको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो । फरक बुझाइका कारण निजी क्षेत्रमा प्रहार हुने गरेको छ । के रोजगारी सिर्जना गर्नु, राजश्व बुझाउनु राज्यका लागि पनि महत्वपूर्ण होइन र ? आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही भएन भने दण्डहीनता मौलाउँछ । कुनै पनिना ममा यसलाई प्रश्रय दिइनु हुँदैन ।’
यस्तै उनले युवा उद्यमशीलताको विषय निक्कै महत्वपूर्ण रहेको उल्लेख गर्दै महासंघको पहलमा स्टार्ट अप नीती आएको स्मरण गराए । अहिले अनुदान दिन शुरु भएको उल्लेख गर्दै उनले थपे, ‘तर त्यतिले मात्रै पुग्दैन । मुलुकको वर्तमान अवस्थामा युवाहरुले उठाइरहेको सुशासन, उद्यमशिलता एवम् रोजागरी जस्ता विषयको सम्बोधनमा यो स्टार्ट अप नीतिको सशक्त कार्यान्वयन महत्वपूर्ण हुनेछ । युवा उद्यमशीलता विकास विशेष कार्यक्रम तत्काल शुरु गरौँ।’ सरकार र महासंघ मिलेर युवा उद्यमी मञ्चको सहकार्यमा युवा उद्यमशीलता विकास कार्यक्रम शुरु गर्न सकिने उनको भनाइ छ ।
‘दर्ता, पँुजी संकलन, बजार प्रवद्र्धन र वर्हिगमनका बिषयमा सहजीकरण अहिलेको आवश्यकता हो । युवाहरुका लागि परियोजना कर्जा, सामुहिक कर्जा, एकिकृत बजार विकास, सूचना प्रविधि र एआईको प्रयोग, डेटा सेन्टर लगायतका विविध योजना एकिकृत गरी नतिजामूलक कार्यक्रम तयार गर्नुपर्छ । एउटा स्टेरिंग कमिटी बनाएर तत्काल काम गर्न सकिन्छ’ढकालको सुझाव छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्