Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

आईएक्समा नेपालको थप ५९४ मेगावाट विद्युत बिक्री हुने,भारतले दियो अनुमती

आईएक्समा नेपालको थप ५९४ मेगावाट विद्युत बिक्री हुने,भारतले दियो अनुमती
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालले भारततर्फ विद्युत निर्यातको दायरा थप विस्तार गरेको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई थप २१.३४ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएसँगै भारततर्फ निर्यातका लागि स्वीकृत कुल विद्युत परिमाण १ हजार १९८ मेगावाट पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

यसैबीच, द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न पनि अनुमति प्राप्त भएको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार (मंसिर २ गते) उक्त विद्युत आईएक्समा बिक्री गर्न स्वीकृति दिएको हो। यसअनुसार नेपाल विद्युत प्राधिकरणले मंसिर २, २०८३ देखि जेठ ३१, २०८४ सम्म ५९४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न सक्नेछ।

स्वीकृत परिमाणमध्ये २०५ मेगावाट विद्युत कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत निर्यात हुनेछ। बाँकी ३८९ मेगावाट विद्युत भने ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत भारतीय बजारमा बिक्री गरिनेछ। नेपाल विद्युत प्राधिकरण र भारतका एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार नेपालले हरेक वर्ष जुनदेखि अक्टोबरसम्म हरियाणा र बिहार राज्यमा विद्युत निर्यात गर्दै आएको छ। चालु वर्षका लागि सम्झौताअनुसार विद्युत निर्यात गर्ने अवधि गत अक्टोबर ३१ (कात्तिक १४) मा समाप्त भएको थियो।

मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत सम्झौताको अवधि सकिएपछि वैकल्पिक बजारका रूपमा भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्ने उद्देश्यले प्राधिकरणले निर्यातयोग्य आयोजनाहरूको सूची निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय सम्बन्धित निकायमा पठाएको थियो। त्यसपछि आवश्यक स्वीकृति प्राप्त गर्न निरन्तर पहल र फलोअप गरिएको थियो। सोही प्रक्रियाबाट हाल ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति प्राप्त भएको हो।

सेती खोला आयोजनाको २१.३४ मेगावाट निर्यात गर्न अनुमति

भारतको केन्द्रीय विद्युत प्राधिकरणले सेती खोला जलविद्युत आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत भारतमा निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको छ। मंसिर २, २०८३ देखि भदौ १५, २०८४ सम्म भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न सकिनेछ। यससँगै नेपालबाट भारततर्फ कुल १ हजार १९८ मेगावाट विद्युत निर्यात गर्न स्वीकृति प्राप्त भएको छ। त्यसैगरी, आगामी हिउँदयाममा नेपालको विद्युत माग र आपूर्तिबीच सन्तुलन कायम गर्न भारतबाट १ हजार ४ मेगावाट विद्युत आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको छ। नेपालले वर्षायाममा आन्तरिक मागभन्दा बढी हुने विद्युत भारतीय बजारमा बिक्री गर्ने र हिउँदयाममा मागअनुसार भारतबाट विद्युत आयात गर्ने व्यवस्था गर्दै आएको छ। पछिल्लो स्वीकृतिले मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युतलाई वैकल्पिक बजारमा बिक्री गर्ने अवसर थप गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit