काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जनाएको छ ।
प्रहरीले यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान गर्ने क्रममा अर्यालको समेत संलग्नता देखिएको दाबी गरेको छ । स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन भएका छन् ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी रहेका छन् ।
त्यस्तै, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पनि पक्राउ परेका छन् । यसअघि यही प्रकरणमा सीआईबीले कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरिसकेको थियो ।















प्रतिक्रिया दिनुहोस्