Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

महँगीको मारमा उपभोक्ता, घ्यूतेल र फलफूलको मूल्यमा उच्च वृद्धि

महँगीको मारमा उपभोक्ता, घ्यूतेल र फलफूलको मूल्यमा उच्च वृद्धि
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। बजारमा दैनिक उपभोग्य वस्तुदेखि यातायातसम्मको मूल्य बढेपछि सर्वसाधारणको महँगीको मार थप चर्किएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा यस्तो दर १.४७ प्रतिशत मात्रै थियो। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले खाद्यवस्तुको मूल्यवृद्धि महँगी बढाउने प्रमुख कारण बनेको देखाएको छ। असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०४ प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत पुगेको छ।

गत वर्षको असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक थियो । अर्थात् त्यसबेला यो समूहमा मूल्य घटिरहेको थियो। तर, एक वर्षमै अवस्था उल्टिएर खाद्यवस्तुको मूल्यवृद्धि उच्च बनेको छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि गत वर्षको ३.५० प्रतिशतबाट बढेको छ । खाद्य तथा पेय पदार्थ समूहमा सबैभन्दा बढी घ्यू तथा तेलको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार असोजमा घ्यू तथा तेलको मूल्य १६.४४ प्रतिशतले बढेको छ। त्यस्तै, फलफूलको १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.५८ प्रतिशत, माछा तथा मासुको ६.९१ प्रतिशत, मरमसलाको ७.७७ प्रतिशत र तरकारीको मूल्य ७.२६ प्रतिशतले वृद्धि भएको छ ।

गैरखाद्य तथा सेवा समूहमा यातायातको मूल्यवृद्धि सबैभन्दा उच्च छ। समीक्षा अवधिमा यातायातको मूल्य १२.१७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । मदिराजन्य पेय पदार्थको ८.५३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ५.४५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दर १.६७ प्रतिशत मात्रै थियो । यसले पछिल्लो समय मूल्यवृद्धिको दबाब तीव्र बनेको देखाउँछ ।

क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा सहरीभन्दा बढी महँगी बढेको छ। असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.६३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा यस्तो वृद्धि ६.२८ प्रतिशत रहेको छ ।प्रदेशगत रूपमा मधेश प्रदेशमा महँगी सबैभन्दा बढी ७.३७ प्रतिशत पुगेको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१३ प्रतिशत रहेको छ । यस्तै, काठमाडौं उपत्यकामा ५.९२ प्रतिशत, तराईमा ६.८८ प्रतिशत, पहाडमा ६.१४ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । उपभोक्तासँगै थोक बजारमा समेत मूल्यवृद्धिको दबाब देखिएको छ। असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ७.२९ प्रतिशत पुगेको छ । गत वर्षको सोही महिनामा यस्तो दर १.३२ प्रतिशत मात्रै थियो । समीक्षा अवधिमा उपभोग्य वस्तुको थोक मूल्य २.७९ प्रतिशतले बढेको छ । मध्यवर्ती वस्तुको मूल्यवृद्धि १.९८ प्रतिशत र पुँजीगत वस्तुको ६.५६ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्य पनि ५.९३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालको मुद्रास्फीति छिमेकी भारतको तुलनामा पनि केही बढी देखिएको छ। सन् २०२६ अक्टोबरमा भारतको उपभोक्ता मुद्रास्फीति ६.०९ प्रतिशत रहेकोमा नेपालमा असोजमा यस्तो दर ६.३७ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit