काठमाडौं । सिद्धार्थ बैंकले विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा अन्तर्राष्ट्रियबाट तीन वटा प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। भिसासँगको “सहयोगी ग्राहक” (Associate Client) साझेदारीअन्तर्गत आयोजित “भिसा नेतृत्व सम्मेलन” कार्यक्रममा बैंकलाई उत्कृष्ट उपभोक्ता क्रेडिट कार्ड सेवा, उत्कृष्ट प्रिपेड कार्ड सेवा तथा उत्कृष्ट पिओएस सेवा विस्तार सम्मान प्रदान गरिएको हो।
भुक्तानी प्रणालीमा देखिएको उत्कृष्टता, व्यवसायिक सहकार्यप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको आधारमा भिसाले सिद्धार्थ बैंकलाई यी सम्मानहरू प्रदान गरेको जनाएको छ।
सुरक्षित, छरितो र आधुनिक डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यसहित सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएस सेवाको दायरा निरन्तर विस्तार गर्दै आएको छ। यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा ग्राहकहरूले जनाउँदै आएको विश्वासलाई थप सबल बनाएको बैंकको भनाइ छ।
आषाढ २०८२ मसान्तसम्म बैंकहरूले जारी गरेको करिब ३ लाख १८ हजार क्रेडिट कार्डमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६० हजार रहेको छ, जसको आधारमा बैंकको बजार हिस्सा करिब १९ प्रतिशत पुगेको देखिन्छ। कारोबारको हिसाबले पनि बैंकले करिब १५ प्रतिशत हिस्सामा उपस्थिती जनाएको छ।
त्यसैगरी, बजारमा जारी २ लाख ५० हजारभन्दा बढी प्रिपेड कार्डमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ३४ हजार रहेको छ। उद्योगस्तरमा भएको १ करोड २५ लाख पिओएस कारोबारमध्ये सिद्धार्थ बैंकमार्फत मात्र करिब ९ लाख ३६ हजार कारोबार सम्पन्न भएकाले बैंकको बजार हिस्सा करिब ८ प्रतिशत रहेको छ।
अन्तर्राष्ट्रिय स्तरको यो सम्मानले बैंकको सेवा गुणस्तर, डिजिटल नवप्रवर्तन क्षमता र ग्राहक सन्तुष्टि उन्मुखतालाई थप मजबुत बनाएको छ। बैंकले आगामी दिनमा पनि अत्याधुनिक प्रविधिको उपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली विस्तार, व्यवसायिक सहकार्य सुदृढीकरण तथा ग्राहक सन्तुष्टिमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

















प्रतिक्रिया दिनुहोस्