काठमाडाैं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशत बराबरको शेयर प्राथमिक सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले प्रति शेयर अंकित मूल्य १०० मा कुल ६ लाख ४४ हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो। यस उद्देश्यका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। आज मंसिर १० गते, बुधवार, नेपाल लाइफ क्यापिटल लिमिटेडको कमलपोखरीस्थित कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सम्झौता सम्पन्न भयो। सम्झौतापत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडका अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेले हस्ताक्षर गरे।
१५ वर्षदेखि उच्च गुणस्तरीय उत्पादन
चितवनको भरतपुरमा १५ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेको भगवती कम्पोजिट इण्डष्ट्रिज अत्याधुनिक प्रविधि प्रयोग गरेर उच्च गुणस्तरीय उद्योगजन्य सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीले विशेषगरी प्रविधिमैत्री, सुरक्षित, दिगो र वातावरणमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
कम्पनीले कभर तथा डब्लु पी सी उच्च घनत्वका ढोका, पार्टेशन बोर्ड, वाल क्याडिङ, पानी–किरा–घाम प्रतिरोधी वाल प्यानलजस्ता सामग्री उत्पादन गर्दै आएको छ। साथै ढोका–झ्याल, फ्रेम, फाइबर सिट, फाइबर बाथटब, फाइबर स्लाइडलगायतका विविध फाइबर उत्पादनहरू पनि कम्पनीले आफ्नै प्लान्टमा अत्याधुनिक प्रविधिबाट उत्पादन गर्दै आएको छ।
नेपाल लाइफ क्यापिटलको क्षमताः पूर्ण मर्चेन्ट बैंकिङ सेवा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट नियमन प्राप्त पूर्ण मर्चेन्ट बैंकिङ संस्था हो। यसले लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन, तथा निष्काशन तथा बिक्री प्रबन्धनजस्ता विस्तृत सेवा प्रदान गर्दै आएको छ।
आईपीओ निष्काशन प्रक्रिया अझ व्यवस्थित र पारदर्शी रूपमा अघि बढाउन नेपाल लाइफ क्यापिटलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्