Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

४०.८३ करोड लागतमा पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

४०.८३ करोड लागतमा पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै
विज्ञापन
Advertisement

तनहुँ । विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्ने कामले तीव्रता पाएको छ । व्यास –७, ९, १० र ११ वडालाई जोड्ने गरी निर्माण भइरहेको चक्रपथ मार्गमा कालोपत्र गर्न थालिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

दैनिक एक सय १५ जना कामदार खटाएर निर्माणलाई तीव्रता दिइएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए । उनका अनुसार विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधीन उक्त मार्ग चालु आर्थिक वर्षभित्र सम्पन्न नभए ठेक्का रद्द हुने भएकाले निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो ।

‘निर्माण कम्पनीले पुस महिनाभित्र चार किमी सडकमा असफाल्ट प्रविधिको कालोपत्र गर्ने योजना बनाएको छ’, तिवारीले भने, ‘कालोपत्र गरिएको सडक चार सेन्टिमिटर मोटाइको हुनेछ।’ एक महिनाअघि २५ प्रतिशत भौतिक प्रगति हासिल भएको यस मार्गको हालसम्म ३५ प्रतिशत बढी काम सम्पन्न भएको नगरपालिका कार्यालयले जनाएको छ ।

वर्षौंदेखि हिलो, धुलो र खाल्टाखुल्टीका कारण सस्तीपूर्ण यात्रा गर्दै आइएकामा सडक सम्पन्न भएपछि स्थानीयलाई आवतजावत गर्न र कृषि उपजलाई बजारसम्म पुर्‍याउन तथा ढुवानीका लागि सहज हुने व्यास–११ का वडाध्यक्ष दलबहादुर दुराले बताए । पराशर मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेँरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्तीसम्म १० दशमलव छ किलोमिटर कालोपत्र गरिने नगरपालिकाका इञ्जिनियर डा राजु पौडेलले जानकारी दिए । पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको थियो ।

आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौंले बोलपत्र प्रक्रिया पूरा गरी निर्माणको जिम्मा पाएको छ । नगरपालिकाका अनुसार उक्त आयोजनाका लागि निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँमा निर्माणको ठेक्का पाएको हो । निर्माण कम्पनीले चालु आवको अन्त्यसम्ममा आयोजना सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । छनोटपश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैंकसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाएको थियो ।

सडक सञ्चालनमा आएपछि बजारसम्मको पहुँच सहज र छिटो हुनुका साथै सामाजिक सेवा प्रदानमा सहज हुने व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले सहरीकरण, स्थानीयको आवश्यकतालगायत पक्षलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको बताए । फाइल फोटो /रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit