काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न आम निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने घोषणा गरेका छन् ।
निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएलगत्तै आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक ‘स्ट्याटस’ लेख्दै उनले हार स्वीकार गरेका हुन् । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग फराकिलो मतान्तरले पराजित भएका ओलीले लोकतन्त्रमा जनताको फैसला नै सर्वोपरी हुने उल्लेख गर्दै भनेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ।’
यस्तै, अध्यक्ष ओलीले यस पटकको निर्वाचनमा आफू र आफ्नो पार्टी दुवैले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको स्वीकार गरेका छन् । एक साता अघि सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी कुल २५ सिटमा मात्र जित हासिल गरेको छ। आफ्नो पराजय र पार्टीप्रति जनविस्वासको खडेरीलाई स्वीकार्दै ओलीले लेखेका छन्, ‘यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो।’
निर्वाचनको परिणाम प्रतिकूल आए पनि जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने ओलीको भनाइ छ । ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ,’ अध्यक्ष ओलीको स्ट्याटसमा उल्लेख छ।
झापा ५ मा बालेन शाहसँगको प्रतिस्पर्धामा पराजित भएपछि ओलीको यो पहिलो औपचारिक प्रतिक्रिया हो। उनको पराजयलाई नेपाली राजनीतिमा एउटा ठूलो राजनीतिक फेरबदल र नयाँ पुस्ताको उदयका रूपमा हेरिएको छ।

















प्रतिक्रिया दिनुहोस्