काठमाडौं। नेपालको धितोपत्र बजारमा लगानीकर्ताहरूको सहभागिता उल्लेख्य रूपमा बढेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा डिम्याट (हितग्राह) खाताको संख्या ७६ लाख ३९ हजार पुगेको छ। यो संख्या नेपालको कुल जनसङ्ख्याको करिब २६.२ प्रतिशत हो। गत २०८२ असार मसान्तसम्म यो संख्या ६९ लाख ९७ हजार मात्र रहेको थियो।
यसैगरी, शेयर आवेदन तथा व्यवस्थापनका लागि प्रयोग गरिने ‘मेरो सेयर’ खाता प्रयोगकर्ताको संख्या पनि बढेर ६६ लाख १३ हजार पुगेको छ, जुन कुल जनसङ्ख्याको करिब २२.७ प्रतिशत हो।
आर्थिक सर्वेक्षण अनुसार धितोपत्रको दोस्रो बजारमा प्रविधिको प्रयोग र लगानीकर्ताको सक्रियतामा निकै सुधार आएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग–इन लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४ सय ६२ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो संख्या २५ लाख ४९ हजार ६ सय ९६ मात्र रहेको थियो। यसले दोस्रो बजारमा सर्वसाधारणको पहुँच र आकर्षण बढ्दै गएको देखाउँछ।
ओटीसी बजारको कारोबारमा वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नभएका पब्लिक कम्पनीहरूको शेयर खरिद–बिक्री हुने ओटीसी बजारको कारोबारमा पनि आकर्षक वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा ओटीसी बजारमा ३ अर्ब २८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार जम्मा १ अर्ब ७९ करोड मात्र सीमित थियो।
यसैगरी, शेयर बजार पेपरलेस (अभौतिक) बन्ने क्रम तीव्र रूपमा अघि बढेको छ। फागुन मसान्तसम्ममा अभौतिकृत धितोपत्रको संख्या गत वर्षको तुलनामा २३।६ प्रतिशतले वृद्धि भई १५ अर्ब ९० करोड ५५ लाख पुगेको छ।

















प्रतिक्रिया दिनुहोस्