भक्तपुर । दिक्षा (गौरी) हाडा मेमोरियल फाउन्डेसन, नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १६५ जना सर्वसाधारण लाभान्वित भएका छन्।
शनिबार आयोजित शिविरमा दन्त परीक्षण, रक्तचाप (ब्लड प्रेसर) परीक्षण, मधुमेह (सुगर) परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष राजेश हाडाले जानकारी दिए। उनका अनुसार समुदायलाई सहज, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरमा स्थानीय तथा ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराई सेवा प्राप्त गरेका थिए।

सहभागीहरूलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्राप्त गर्नुका साथै आवश्यकताअनुसार औषधिसमेतउपलब्ध गराइएको जनाइएको छ। शिविरमा समाज डेन्टल हस्पिटलको विस्तारित सेवामार्फत विशेषज्ञ दन्त परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो। त्यस्तै, विभिन्न औषधि तथा स्वास्थ्यसम्बन्धी संस्थाहरूले निःशुल्क औषधि उपलब्ध गराई कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग गरेका थिए।

फाउन्डेसनकी बोर्ड सदस्य डा. दिव्या शर्माले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेकी थिइन्। फाउन्डेसनका अनुसार उनको सक्रिय सहभागिता, व्यावसायिक दक्षता तथा समर्पित सेवाले शिविरलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
त्यसैगरी, फाउन्डेसनका सदस्य अवधराज ज्ञवालीले औषधिको व्यवस्थापन तथा वितरणमा विशेष योगदान पुर्याएका थिए। नर्सिङ सेवातर्फ वरिष्ठ नर्स निभा पालिखेल र शुभद्रा प्रधानले निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका थिए।

फाउन्डेसनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, प्रायोजक, सहयोगी तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने यस्ता जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया दिनुहोस्