काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय रूपमा सबल र सुशासित सूचीकृत कम्पनीलाई प्रोत्साहन गर्ने उद्देश्यले शेयर धितो कर्जासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ।
अब उच्च मूल्यांकन प्राप्त कम्पनीको शेयर धितोमा बैंक तथा वित्तीय संस्थाले हालको सीमाभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने भएका छन्। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै कम्पनीको सबलताका आधारमा शेयर धितो कर्जाको कर्जा–मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) अधिकतम १० प्रतिशत बिन्दुसम्म बढाउन सकिने व्यवस्था गरेको हो।
हाल कायम व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रकाशित पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउँछन्। नयाँ व्यवस्थाअनुसार भने वित्तीय रूपमा सबल कम्पनीको शेयर धितोमा यो सीमा बढाएर अधिकतम ८० प्रतिशतसम्म पुर्याउन सकिनेछ।
राष्ट्र बैंकले यस्तो सुविधा प्रदान गर्नुअघि बैंक तथा वित्तीय संस्थाले कम्पनीको सबलता मूल्यांकन गर्ने स्पष्ट विधिसहितको ‘प्रोडक्ट पेपर’ तयार गर्नुपर्ने व्यवस्था गरेको छ। उक्त मूल्यांकनका आधारमा उच्च अंक प्राप्त गर्ने कम्पनीका शेयरमा मात्र थप १० प्रतिशत बिन्दुसम्म कर्जा दिन सकिनेछ।
केन्द्रीय बैंकका अनुसार मूल्यांकन गर्दा कम्पनीको चुक्ता पुँजीको आकार, धितोपत्र बजारमा सूचीकृत भएको अवधि, निरन्तर नाफा आर्जन र लाभांश वितरणको अवस्था, क्रेडिट रेटिङ, नियामकीय व्यवस्था पालना तथा नियमित रूपमा साधारणसभा सम्पन्न गरेको अवस्थालाई आधार बनाउनुपर्ने उल्लेख छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तयार गर्ने यस्तो ‘प्रोडक्ट पेपर’ आफ्नै वेबसाइटमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था समेत गरेको छ।














प्रतिक्रिया दिनुहोस्