Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

गार्मेन्ट उद्योगीलाई प्रधानमन्त्रीको साथः ‘तपाईंहरू ड्राइभर, हामी मध्यस्थकर्ता’

गार्मेन्ट उद्योगीलाई प्रधानमन्त्रीको साथः ‘तपाईंहरू ड्राइभर, हामी मध्यस्थकर्ता’
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल तयारी पोसाक उद्योग संघले प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफलपछि सरकार निजी क्षेत्रमैत्री नीतिका साथ उद्योग क्षेत्रको पुनरुत्थानमा गम्भीर देखिएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

संघका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीसँगको भेटलाई तयारी पोसाक उद्योगको इतिहासमै सबैभन्दा सकारात्मक र परिणाममुखी संवादको रूपमा व्याख्या गरेका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष पाण्डेले सरकारले अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राखेको अनुभूति भएको बताए।

उनले भने, ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने अनुभूति भएको छ। देशको अर्थतन्त्र नै सरकार हो। अर्थतन्त्र सुधार नगरी देश बन्दैन। मान्छे निर्यात गरेर होइन, उत्पादन भएका वस्तु निर्यात गरेर मात्रै देश समृद्ध हुन्छ।’ उनका अनुसार प्रधानमन्त्री शाहले उद्योग क्षेत्रका समस्या सुन्न मात्र नभई तत्काल सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै समाधान प्रक्रिया अघि बढाएका छन्।

अध्यक्ष पाण्डेले प्रधानमन्त्री तयारी पोसाकको विकासमा केन्द्रित उल्लेख गर्दै छलफल सकारात्मक भएको बताए । ‘मलाई सम्माननीयज्युसँग नभएर मेरै परिवारको मान्छेसँग छु भन्ने रुपमा उहाँले जसरी कुरा गर्नुभयो त्यो सकारात्मक छ,’ पाण्डेले भने, ‘ यो तयारी पोसाकको विकास हुनुपर्यो, अर्थतन्त्रमा सबल हुनुपर्यो र त्यसलाई तपाईंहरूले ड्राइभ गर्ने हो, हामी चाहिँ एउटा बीचको मध्यस्थकर्ता मात्रै हौँ, देशको विकास हुनुपर्यो भन्नुभयो । उहाँले जुन चासो दिनुभयो, त्यो प्रशंसनीय छ।’

संघले उद्योग मन्त्रालयमा लामो समयदेखि रोकिएका केही विषय उठाएपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयसँग तत्काल बैठक गरी समस्या समाधान गर्न निर्देशन दिएका हुन्। छलफलका क्रममा संघले उठाएको मागअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन्। संघका अनुसार काउन्सिल गठन भएपछि स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक उत्पादन, निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउन सहज हुनेछ।

रुग्ण उद्योग सञ्चालनदेखि एफडीआई र एफटीएसम्म जोड

प्रधानमन्त्री शाहले लामो समयदेखि बन्द रहेका तयारी पोसाक उद्योग तथा पुल्चोक कपडा उद्योग पुनः सञ्चालनका लागि आवश्यक पहल गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएका छन्। त्यसैगरी तयारी पोसाक उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने, बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालमा उत्पादनका लागि आकर्षित गर्ने तथा अमेरिकासँग निःशुल्क व्यापार सम्झौता (एफटीए) अघि बढाउने विषयमा पनि सरकारले पहल गर्ने प्रतिबद्धता जनाएको छ।

‘पाइपलाइनमा राखेर अलि लामो समय गर्नुपर्ने कामहरूको लागि पनि उहाँ (प्रधानमन्त्री) ले कुरा गर्नुभयो । खासगरी प्रत्यक्ष वैदेशिक लगानी कसरी ल्याउने, अमेरिकासँग हामी व्यापार कसरी बढाउने, स्वतन्त्र व्यापार सम्झौता कसरी गर्ने, प्रत्यक्ष वैदेशिक लगानी त्यहाँको कसरी ल्याउने, ठुला बहुराष्ट्रिय कम्पनीहरूलाई कसरी देशमा यहाँ उत्पादन गर्नका लागि भित्र्याउने भन्ने हिसाबको काम गर्नुपर्छ भन्नुभएको छ,’ अध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भएको छलफलबारे जानकारी दिए ।

प्रधानमन्त्री सचिवालयका अनुसार अमेरिकामा नेपाली तयारी पोसाक निर्यातमा देखिएको टेस्टिङ सर्टिफिकेसन सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयलाई आवश्यक समन्वय गर्न आजै निर्देशन दिइसकेका छन्।

‘ग्रिन गार्मेन्ट भिलेज’ निर्माणको प्रस्ताव

छलफलमा सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको ‘ग्रिन गार्मेन्ट भिलेज’ परियोजनालाई बजेट अभावका कारण अघि बढ्न नसकेको विषय पनि उठाइएको थियो। प्रधानमन्त्री शाहले उपयुक्त स्थान पहिचान गरी प्रस्ताव ल्याउन आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएका छन्। संघले एकीकृत गार्मेन्ट भिलेज स्थापना भए साना उद्योगीलाई सुविधा पुग्ने, औद्योगिक पर्यटन विकास हुने तथा उत्पादन क्षमता विस्तार हुने विश्वास व्यक्त गरेको छ।

प्रधानमन्त्रीले मागे फार्म टु फाइबर देखि फेसन टु एक्सपोर्ट सम्मको योजना

प्रधानमन्त्री शाहले कपास खेती, प्लान्ट–बेस्ड तथा एनिमल–बेस्ड फाइबर उत्पादनदेखि फार्म टु फाइबर–फाइबर टु फेब्रिक– फेब्रिक टु फेसन र फेसन टु एक्सपोर्ट अवधारणालाई कार्यान्वयन गर्ने गरी आवश्यक दक्ष जनशक्ति उत्पादन, तालिम तथा लगानीको वातावरण तयार गर्ने योजना माग गरेका छन् । छलफलका क्रममा यसका लागि सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्यलाई प्राथमिकता दिइने उनको भनाइ थियो।

यसबारे प्रधानमन्त्रीको भनाइ उदृत गर्दै अध्यक्ष पाण्डेले भने, ‘ यहाँहरूले नै प्लान ल्याउनुस्, यहाँहरूले नै के गर्ने, यसो गर्ने यसो गर्ने भनेर माग गर्नुभयो । प्लान्ट–बेस्ड फाइबर, एनिमल–बेस्ड फाइबर, कपास खेती, जुन हाम्रो संस्थाले उठाउँदै आएको थियो । त्यसलाई हुने हिसाबले अब यो शिक्षालयकै हिसाबले डेभलप गर्ने कि, यहाँका युवालाई यहीँ पढाउने कि भनेर उहाँले कुरा राख्नुभयो,’ उनले थप भने, ‘जेन–जी युवाहरू पनि कतिपय तयारी पोसाकमा गएर काम गर्न खोज्नेहरूलाई ट्रेनिङ स्कुलदेखि नै लगानीको वातावरण बनाएर कसरी यो विकास साझेदार, सरकार र निजी क्षेत्र मिलेर काम गर्न सकिन्छ भन्ने विषय उनले राख्नुभयो ।’

निर्यात १० देखि २० गुणासम्म बढाउन सकिन्छ

अध्यक्ष पाण्डेका अनुसार नेपालबाट हाल करिब १० अर्ब रुपैयाँ बराबरको तयारी पोसाक निर्यात भइरहेको छ र तेस्रो मुलुकतर्फ हुने निर्यातमा तयारी पोसाक दोस्रो स्थानमा रहेको छ। उनले सरकारका प्रतिबद्धता कार्यान्वयन भए तयारी पोसाक उद्योगको निर्यात १० देखि २० गुणासम्म वृद्धि गर्न सकिने दाबी गरे। अमेरिकासँग एफटीए, वैदेशिक लगानी आकर्षण, स्वदेशी कच्चा पदार्थ उत्पादन तथा नीति सुधारमार्फत तयारी पोसाक उद्योगलाई नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न सकिने उनको विश्वास छ।

‘हामी अहिले हामी १० अर्बको निर्यात गरिरहेका छौँ । गलैँचा पहिलो हिस्सामा, तयारी पोसाक दोस्रोमा छ भने यी केही मागहरू सम्बोधन भएर हामीले आफ्नो–आफ्नो तर्फबाट यसलाई १० देखि २० प्रतिशत सम्म बढाउन सक्छौं,’ उनले भने, ‘हामीले निर्यातका लागि इन्डिया र चाइनासँग पनि समन्वय गर्ने र त्यसैगरी अमेरिकी मार्केटमा चाहिँ फ्रि–ट्रेड एग्रिमेन्ट लागू गर्न सकियो भने यस क्षेत्रमा ठुलो फड्को मार्ने देखिन्छ।’

छलफलमा नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झाको सहभागिता रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit