काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै व्यावसायिक विस्तारसँगै नाफा, सञ्चालन आम्दानी र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार गरेको जनाएको छ।
बैंकको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार गत आर्थिक वर्ष बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ०४ पैसा पुगेको छ। बैंकका अनुसार खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भएको वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा आएको उल्लेख्य कमीले नाफा सुधारमा प्रमुख योगदान दिएको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.६४ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो रकम ३ अर्ब ६१ करोड २० लाख रुपैयाँ थियो। कुल ब्याज आम्दानी भने केही घटे पनि निक्षेपमा तिर्नुपर्ने ब्याज खर्च उल्लेख्य घटेकाले बैंकको नेट इन्ट्रेस्ट मार्जिनमा सकारात्मक प्रभाव परेको देखिएको छ।
यस्तै, खुद फि तथा कमिसन आम्दानी २१.२० प्रतिशतले बढ्दै ५१ करोड ८ लाख रुपैयाँबाट ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुवैमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा पनि ४२.६५ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ। कर्मचारी खर्च भने १ अर्ब ११ करोड ५ लाख रुपैयाँबाट बढेर १ अर्ब २४ करोड ७८ लाख रुपैयाँ पुगेको छ। अन्य सञ्चालन खर्च ४६ करोड ३८ लाख रुपैयाँबाट करिब १.३४ प्रतिशतले बढेर ४७ करोड रुपैयाँमा सीमित रहेको छ।
बैंकको नाफा बढ्नुको सबैभन्दा महत्वपूर्ण कारण कर्जा नोक्सानी व्यवस्थामा आएको तीव्र कमी देखिएको बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा सम्भावित कर्जा जोखिमका लागि ६४ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङ गरिएकोमा गत आर्थिक वर्षमा यस्तो खर्च जम्मा ४ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। अर्थात् कर्जा नोक्सानी व्यवस्था करिब ९२ प्रतिशतले घटेको छ। निक्षेपको लागत (कस्ट अफ फण्ड) पनि ४.८४ प्रतिशतबाट घटेर ३.५३ प्रतिशतमा झरेको छ, जसले बैंकको नाफामा थप सकारात्मक प्रभाव पारेको छ। त्यसैगरी बैंकको आधार दर (बेस रेट) ६.९४ प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा आएको छ।
बैंकले साधारण शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने क्षमता पनि उल्लेख्य रूपमा बढाएको छ। नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको बोनस शेयर तथा नगद लाभांश समायोजनपछि असार मसान्तसम्म कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको हो। प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा रहेकाले बैंकले करिब २०.२३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिन्छ।
बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ। व्यावसायिक विस्तारतर्फ पनि बैंकले उल्लेख्य प्रगति गरेको छ। समीक्षा अवधिमा निक्षेप ९.२७ प्रतिशतले बढेर ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३.१८ प्रतिशतले विस्तार हुँदै ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति ८.२१ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
वित्तीय सूचकहरू पनि सन्तोषजनक देखिएका छन्। बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २६ पैसा रहेको छ भने पुँजी कोष अनुपात १३.६३ प्रतिशत कायम छ, जसले बैंकको वित्तीय अवस्था मजबुत रहेको संकेत गर्छ। यद्यपि खराब कर्जाको अनुपात (एनपीएल) भने ४.६९ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुगेको छ।















प्रतिक्रिया दिनुहोस्