काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२र८३ को अन्तिम त्रैमासमा मात्र ४ अर्ब २० करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।
कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार वैशाखदेखि असार मसान्तसम्ममा नेपाल टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ करअघिको नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २२ करोड ४८ लाख ४ हजार रुपैयाँ करअघिको नाफा कमाएको थियो । यसअनुसार एक वर्षमा अन्तिम त्रैमासको नाफा करिब ३ अर्ब रुपैयाँले बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा टेलिकमले ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यसको तुलनामा चौथो त्रैमासमा नाफा १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँले बढेको हो । कम्पनीका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु द होम’ (एफटीटीएच) र जीएसएम डाटाको खपत बढ्दा आम्दानीमा सुधार आएको हो। आवाज सेवाभन्दा डाटा सेवाको प्रयोग बढेको, सञ्चालन खर्च घटेको तथा विज्ञापन र प्रायोजनलगायतका खर्चमा कटौती गरिएकाले नाफा बढेको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले गत आर्थिक वर्षमा विज्ञापन, प्रायोजनलगायतका खर्च कटौतीबाट मात्रै करिब १० देखि १५ करोड रुपैयाँ बचत गरेको जनाएको छ। सेवा सञ्चालन तथा मर्मतसम्भार खर्चमा समेत कमी आएको कम्पनीको भनाइ छ ।
वार्षिक खुद नाफा ८ अर्ब ८६ करोड
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल टेलिकमको खुद मुनाफा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो । यसअनुसार कम्पनीको खुद नाफा एक वर्षमा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढेको हो । त्यस्तै, करअघिको नाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो । यस आधारमा करअघिको नाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको छ । कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (इबिट्डा) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा इबिट्डा १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको हो ।
सञ्चालन आय पनि बढ्यो
समीक्षा अवधिमा नेपाल टेलिकमको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३।१२ प्रतिशतले बढेको हो । कम्पनीको कुल आय पनि ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो । कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको हो । कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ ।
ब्याज आम्दानी घट्दा पनि नाफा बढ्यो
ब्याजदर घट्दै जाँदा कम्पनीको ब्याज आम्दानी भने समीक्षा अवधिमा ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ । तर मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिले समग्र सञ्चालन आय र नाफा बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ ।विशेषगरी जीएसएम सेवातर्फको राजस्वमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षमा जीएसएम सेवाको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
सेवा सुधारमा सरकारी पहल
सरकारले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका काम अघि बढाएको जनाएको छ । शासकीय सुधारसम्बन्धी १०० कार्यसूची तथा सूचना तथा सञ्चार मन्त्रालयको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा समेत नेपाल टेलिकम सुधारलाई प्राथमिकतामा राखिएको थियो ।
यस क्रममा डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था अन्त्य गरिएको छ। कम्पनीले ‘पे–एज–यू–गो’ प्रणाली लागू गरेपछि ग्राहकलाई डाटा सकिएपछि शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्ने विषयमा विकल्पसहितको सुविधा उपलब्ध भएको जनाएको छ । त्यस्तै, सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाईसी’ लागू गर्ने काम अघि बढेको उल्लेख छ। ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवा पनि अनलाइन माध्यमबाट उपलब्ध हुन थालेका छन् ।
ग्राहकलाई एउटै स्थानबाट विभिन्न सेवा उपलब्ध गराउन नेपाल टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गरिएको छ। ४जी सेवाको पहुँच र गुणस्तर सुधारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने नीतिगत पहलसमेत गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवा सुधार, डाटा खपतमा वृद्धि, आम्दानी विस्तार र सञ्चालन खर्च नियन्त्रणको संयुक्त प्रभाव नेपाल टेलिकमको वित्तीय अवस्थामा देखिन थालेको हो ।
















प्रतिक्रिया दिनुहोस्