Advertisement
Advertisement
Corporate Samachar
३ मंसिर २०८३, बिहीबार
Advertisement
Advertisement

बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोडको राहत तथा पुनर्स्थापना कार्यक्रम ल्याउने

बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोडको राहत तथा पुनर्स्थापना कार्यक्रम ल्याउने
विज्ञापन
Advertisement

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। कार्यक्रमअन्तर्गत तत्काल राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना तथा दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका काम अघि बढाइने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

भदौ १० गते रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फाउन्डेसन र बैंकले प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रमको पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराइनेछ। तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल तथा व्यक्तिगत सरसफाइका सामग्रीसहितका राहत प्याकेज भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्‍याउन थालिएको छ। राहत वितरणका लागि फाउन्डेसन र बैंकका कर्मचारी स्थानीयस्तरमा परिचालित भइसकेका छन्।

स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गर्ने तयारीसमेत गरिएको छ। ती शिविरमा प्रभावित समुदायलाई दैनिक भोजनका साथै आवश्यक आधारभूत सुविधा उपलब्ध गराइनेछ।

यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। स्वास्थ्य शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी आवश्यक सुविधा उपलब्ध गराइनेछ।

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ। यसका लागि सरकार तथा स्थानीय सरकारसँग सहकार्य गरिनेछ। स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक आवास उपलब्ध गराउने उद्देश्य राखिएको छ।

अस्थायी आवास एकाइ नेपालमा भूकम्पपीडितका लागि राहत तथा पुनर्स्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रमाणित प्रविधिमा आधारित हुने जनाइएको छ। यससँगै प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गरिनेछ।

दीर्घकालीन योजनाअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने भएको छ। उक्त केन्द्रमार्फत रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी र अन्य विपद्पछि उत्पन्न हुन सक्ने संक्रामक रोगको प्रभावकारी व्यवस्थापनका लागि संस्थागत क्षमता विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा गर्दै उनीहरूलाई खाना, आवास, स्वास्थ्य सेवा र सम्मान सुनिश्चित गर्नु रहेको बताए। आपत्कालीन राहतमा मात्र जिम्मेवारी सीमित नराखी उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र जनस्वास्थ्य तयारीसम्मको यात्रामा साझेदारीमार्फत प्रतिबद्ध भएर अघि बढ्ने उनले बताए।

चौधरीका अनुसार फाउन्डेसन र नबिल बैंकका अधिकारीहरूले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग निकट समन्वयमा काम गर्नेछन्। सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत र सहायता पारदर्शी, प्रभावकारी तथा व्यवस्थित रूपमा पुर्‍याउने उद्देश्य राखिएको उनले बताए।

राष्ट्रिय संकटका समयमा नेपाली जनताको साथमा उभिने तथा प्रभावित समुदायलाई सुरक्षित, स्वस्थ र विपद् प्रतिरोधी भविष्य निर्माण गर्न सहयोग गर्ने साझा प्रतिबद्धताअनुसार कार्यक्रम अघि बढाइएको चौधरी फाउन्डेसन र नबिल बैंकले जनाएको छ।

प्रभावित समुदायको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले देखाएको शीघ्र र सक्रिय पहलप्रति पनि फाउन्डेसन र बैंकले आभार व्यक्त गरेका छन्। सरकारको समन्वयमा प्रभावित नागरिकको जीवनरक्षा, राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उनीहरूले बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit