Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नेपाली प्रविधिलाई ‘एपिक्टा अवार्ड्स’सम्म पुर्‍याउन ‘आइसिटी अवार्ड्स’ र ‘नास–आईटी’बीच सहकार्य

नेपाली प्रविधिलाई ‘एपिक्टा अवार्ड्स’सम्म पुर्‍याउन ‘आइसिटी अवार्ड्स’ र ‘नास–आईटी’बीच सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्‍याउने उद्देश्यले आइसिटी अवार्ड्स र नास–आईटीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

समझदारीअनुसार आइसिटी अवार्ड्समार्फत राष्ट्रियस्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित एपिक्टा अवार्ड्समा सहभागी गराउन आवश्यक सहजीकरण तथा मार्गदर्शन उपलब्ध गराइनेछ।

सहकार्यअन्तर्गत आइसिटी अवार्ड्समा सहभागी तथा विजेता भएका योग्य कम्पनी, स्टार्टअप र नवप्रवर्तकलाई एपिक्टा अवार्ड्सका लागि आवश्यक योग्यता तथा विधा छनोट, आवेदन तथा मनोनयन प्रक्रिया र प्रस्तुति तयारीलगायतका विषयमा सहयोग गरिनेछ। साथै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको स्वरूप बुझ्न र आफ्ना प्रविधि तथा उत्पादनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न आवश्यक तयारीमा समेत सहजीकरण गरिनेछ।

आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले राष्ट्रियस्तरमा उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन पहिचान गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्नु आइसिटी अवार्ड्सको यात्राको स्वाभाविक अर्को चरण भएको बताए।

नेपालमा भइरहेका उत्कृष्ट प्रविधि र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ। एपिक्टासम्म पुग्ने प्रक्रियामा आवश्यक सहजीकरण गर्न सके नेपाली प्रतिभाले आफ्नो क्षमता अझ व्यापक रूपमा प्रस्तुत गर्न सक्ने उनले बताए।

नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले सहकार्यलाई नेपाली प्रविधि उद्योगका लागि अन्तर्राष्ट्रिय बजार, सञ्जाल र व्यावसायिक सम्भावनासँग जोडिने अवसरका रूपमा व्याख्या गरे।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनु अवार्ड प्राप्त गर्ने प्रयासमा मात्र सीमित नभई विश्व बजारमा नेपाली उत्पादन र क्षमताको पहिचान बनाउने अवसरसमेत भएको उनको भनाइ छ। नेपाली कम्पनी तथा स्टार्टअपलाई यस्ता अवसरसँग जोड्न संस्थागत सहकार्य महत्वपूर्ण हुने उनले बताए।

त्यस्तै, नास–आईटीका पूर्वअध्यक्ष गौरव राज पाण्डेले अन्तर्राष्ट्रियस्तरका प्रतिस्पर्धामा सहभागितामार्फत नेपाली प्रविधि क्षेत्रको क्षमता विश्वसामु प्रस्तुत गर्न सकिने बताए। यस्ता मञ्चले नेपाली कम्पनीलाई आफ्ना समाधानलाई अन्तर्राष्ट्रिय मापदण्डसँग तुलना गर्दै सुधारका सम्भावना पहिचान गर्ने अवसरसमेत दिने उनको भनाइ छ।

पाण्डेका अनुसार नेपाली प्रविधि क्षेत्रमा पछिल्ला वर्षमा उल्लेख्य प्रगति भएको छ। अब उपलब्धिलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्दै विश्वस्तरीय मापदण्डसँग प्रतिस्पर्धा गर्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए।

आइसिटी अवार्ड्स र नास–आईटीबीचको सहकार्यले नेपालमा पहिचान भएका प्रविधि तथा नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्‍याउने संस्थागत संयन्त्र निर्माण हुने अपेक्षा गरिएको छ। यसबाट नेपाली कम्पनी तथा स्टार्टअपले अन्तर्राष्ट्रिय अवार्ड प्रक्रियामा सहभागी हुने अनुभव हासिल गर्नुका साथै आफ्ना प्रविधि समाधानलाई विश्वस्तरमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

एपिक्टा अवार्ड्स एसिया–प्रशान्त क्षेत्रका सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन तथा उपलब्धिलाई सम्मान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो। नेपाली प्रविधि कम्पनी तथा नवप्रवर्तकको सहभागिता विस्तार गर्ने उद्देश्यले भएको यो सहकार्यलाई नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit