काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक्स र नेपाल डिस्टिलरीजलगायतका संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट रुपमा उक्त रकम सहयोग गरेका हुन् । होल्डिङ्सका सह–अध्यक्ष तथा नर्भिककी निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई मन्त्रालयमा भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा मेघा चौधरीले विपद्का बेला सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार तथा पुनर्निर्माणका कार्यलाई सहयोग पुर्याउने उद्देश्यले तीन करोड रुपैयाँभन्दा बढी रकम प्रदान गरिएको बताइन् । ‘यो सहयोग रकम आफैंमा धेरै ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास लिएका छौं,’ उनले भनिन् । उनले विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका संघसंस्था तथा व्यक्तिहरूप्रति सम्मान व्यक्त गरिन् ।
बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार तथा पुनर्स्थापनाका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार आबद्ध संस्थाहरूबाट कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरिएको जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्